धनगढी। कैलालीको धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन भएका खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश विजयी भएका छन्।
उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। टस जितेर पहिले ब्याटिंङ गरेको प्रदेश १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मदत्तमा २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनायो। ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन्। अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन्। प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो। कर्णालीका लागि दिव्या धामीले २ विकेट लिइन्।
प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब ४ ओभरमा ६ रनमा अलआउट भयो। प्रदेश नम्बर १ का लागि अलिशा खडीयाले ५ विकेट लिइन्। यस्तै संगीता राईले दुई र सबनभ राईले एक विकेट लिइन्। ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच भइन्। शनिबार नै फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले सानदार जित दर्ता गरेको छ। टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन बनायो। बागमतिका लागि हेलिशा गुरुङले २८ रन बनाइन्।
बागमतिले १५ रन अतिरिक्त पायो। लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिइन्। जवाफी ब्याटिंङ थालेको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ। लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाइन्। बागमतिका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डंगालले एक एक विकेट लिइन्। लुम्बिनीका लागि ३ विकेट लिएकी मधु डिसी प्लेयर अफ द म्याच भइन्। प्रतियोगिताको दोस्रो दिन पनि दुई वटा खेल हुनेछन्।
पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको यसअघि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालवहादुर खड्काले उद्घाटन गरेका थिए। प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।