धनगढी। कैलालीको लम्कीचुहाका युवक भूपेन्द्र बडूवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
आज धनगढीमा प्रदर्शन गर्दै आफन्त र परिवारजनले आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले अन्धो कानुन चाहिँदैन, मान्छे मार्न पाइँदैन भन्ने लगायतका नारासहित धनगढीको पार्कमोड देखी कैलाली जिल्ला अदालत अगाडि सम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेल नजिकै लम्कीका भूपेन्द्र बडूवालको हत्या भएको थियो । बडूवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।यस्तै भूपेन्द्र बडूवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् । गत शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।