कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधको कारोबार गर्ने दुई भारतीय नाईके पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीले सुदुरपश्चिममै लागुऔषधको अवैध कारोबार गर्ने नाईके अर्थात “ड्रग्स डिलर” भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
आईतबार साझ ६ बजे बेलौरी प्रहरीका प्रमुख कमल कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका ६, नकैया नाकाबाट दुई जना नाईके भारतीय नागरिकलाई खैरो हिरोईन सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने वर्ष १९ को राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने वर्ष २३ को धरमवीर सिंह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोईन बरामद गरेको जानकारी दिए। प्रहरी निरीक्षक खड्काले एक वर्षको अवधीमा लागुऔषधमा २४ मुद्दा दर्ता भएको र ५४ जना माथी कानुनी कार्वाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको सक्रियता देखिएपनि सुदुरपश्चिममा लागुऔषध सेवन गर्ने युवाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको देखीएको छ ।


