धनगढी। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा सुदूरपश्चिमबाट नमूना परीक्षण गर्न काठमाडौं पठाइएको छ। संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो की होइन भन्ने पत्ता लगाउने व्यवस्था काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा मात्रै भएकाले नमूनाहरु काठमाडौं पठाइएको हो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट फर्किनेहरुमा संक्रमण देखिएपछि सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई परीक्षणका लागि नमूना काठमाडौं पठाउने जिम्मेवारी दिइएको जानकारी दिए ।
‘भारतबाट फर्किने नागरिकको सीमा नाकामा कोरोना परीक्षण गरेर पोजेटिभ देखिएकाहरुको व्यवस्थापन गर्ने काम विगतदेखि नै भइरहेको थियो,’ कार्कीले भने, ‘भारतमा पनि नयाँ ओमिक्रोन भेरियन्ट देखिएकाले हामीले थप सतर्कता अपनाएका छौं । पोजेटिभ देखिनेहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउने काम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्छ ।’
सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले सीमा नाकामा पोजेटिभ देखिएकाहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन सबै ठाउँमा सर्कुलर गरिएको जानकारी दिए ।भारतमा नयाँ भेरियन्ट देखापरेपछि सीमा नाकामा समेत थप कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
छैन ओमिक्रोन परीक्षणको व्यवस्था
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले संक्रमितको संख्या विगतको तुुलनामा केही बढ्न थालेको पाइएको बताए । ‘अस्पतालमा गरिने पीसीआर परीक्षणका क्रममा दैनिक ५र७ जनामा कोरोना संक्रमण देखिरहेको छ। तीमध्ये कहिलेकाहिँ कम्तीमा एक जना जटिल समस्या भएको संक्रमित भर्ना हुुने गरेका छन्,’ पाण्डेले अनलाइनखबरसँग भने । तर संक्रमितहरुमा नयाँ भेरियन्ट हो की होइन भन्ने पत्ता लगाउन भने परीक्षण गर्ने व्यवस्था नभएकाले समस्या भइरहेको पाण्डेले बताए ।
प्रादेशिक अस्पतालले कोरोनाको नयाँ लहर फैलिएपछि उपचार तथा नियन्त्रणका लागि आवश्यक पर्ने पूर्व तयारी समेत थालिएको जनाएको छ। ५० शय्याको कोभिड अस्थायी अस्पतालमा आईसीयू बेडको संख्या थपेर १८ पुगाइएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयले निर्माण गरिरहेको थप ५० शय्याको कोभिड वार्ड हस्तान्तरण भएमा संक्रमितको व्यवस्थापनमा सहज हुने विश्वास अस्पतालको छ।