दार्चुला। डिभिजन वन कार्यालय दार्चुलामा कर्मचारी अभाव भएको छ। कार्यालयमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ।
कार्यालयमा अधिकृत स्तरको नवौं/दशौं तहको वन अधिकृत देखी चौकीदार समेत गरि २९जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल २४ जना कर्मचारी मात्र कार्यरत रहेका छन्। कर्मचारी अभावका कारण जिल्लाका विभिन्न सामुदायिक बनको स्थलगत अनुगमन, सामुदायिक वनमा भएको फडानी, चोरी निकासी लगाएतका कामहरु समेत गर्न सकेको छैन्।
डिभिजन वन कार्यालय माताहतका जिल्लाका २ वटा सव–डिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न सकेका छैनन् । कर्मचारी अभावको विषयमा पटकपटक प्रदेश सरकारलाई पत्राचार गर्दा समेत अहिले सम्म कर्मचारी नपठाएको डिभिजन वन कार्यालय दार्चुलाका साहयक डिभिजन अधिकृत अमर सिह धामीले जानकारी दिए । उनले भने– कार्यालयमा कर्मचारी नै छैनन्। जिल्लामा विभिन्न स्थानिय तहहरुमा व्यापकरुपमा सामुदायिक वन फडानी भएको, काठको चोरी निकासी भएको लगाएतका विभिन्न समस्याका बिषयमा स्थानियहरुले जानकारी गराउँदा पनि त्यस क्षेत्रमा कर्मचारी खटाउन सकिएको छैन्।
कर्मचारी नभएकाले भएका कर्मचारीहरुलाई आलोपालो प्रणाली मार्फत काममा खटाउँदै आएको डिभिजन वन अधिकृत धामी बताउँछन्। हाल डिभिजन वन कार्यालयमा उप सचिव पदका १ जना साहयक बन अधिकृत १ जना रेन्जर १ जना तथा सशस्त्र बन रक्षक ५ जनाको दरवन्दी रिक्त रहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ। कही कर्मचारी करारमा राखेर काम गर्ने गरेको भए पनि दरबन्दी अनुसार कर्मचारी अभावले समग्रमा बनको बनक्षेत्रमा समस्या आउने गरेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ।
वन रक्षक नहुँदा चोरीनिकासीमा वृद्धि
दार्चुलामा सशस्त्र वन रक्षक नहुँदा वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय दार्चुलाका अनुसार जिल्लामा सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय गरी ३ डिभिजन वन कार्यालयमा ५ जनाको दरबन्दी सशस्त्र वन रक्षक भए पनि जिल्लामा एक जना पनि सशस्त्र वन रक्षक नहुँदा जिल्लामा चोरी तस्करी बढ्दै गएको स्थानीयवासीको भनाइ छ। दार्चुला जिल्लाको भूगोलमा ४३ हजार ७ सय २४ दशमलब ३ हेक्टर क्षेत्रफलमा बन क्षेत्र फैलिएको डिभिजन वन कार्यालय दार्चुलाका प्रशासन प्रमुख केशब राज जोशीले जानकारी दिए ।
जिल्लामा रहेका अधिकाशं सामुदायिक बन क्षेत्रमा सशस्त्र वन रक्षक नहुँदा चोरी तस्करी नियन्त्रणमा समस्या भएको पाइएको छ।कर्मचारी अभाव र वन क्षेत्रले ओगटेको भू–भाग ठूलो भएका कारण चोरी तस्करी न्यूनीकरण गर्न कठिनाइ भइरहेको उनले बताए । जिल्लाको लेकम क्षेत्र नौगाड महाकाली नगरपालिका क्षेत्रमा बन क्षेत्रहरुबाट बढी चोरी तस्करी भइरहेको देखिन्छ । तिन पालिका भएर लेकम मालिकार्जुन हुँदै शैल्यशिखर नगरपालिका तिरबाट पनि बढी तस्करी भइरहेको यस क्षेत्रका स्थानीयहरुले बताएका छन ।


