दार्चुला। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा खार देथला पारिबगर सडकको स्थलगत अनुगमन गरेका छन् । प्रदेश गौरवको योजनाअन्र्तगत रहेको खलंगा–खार–देथला सडक खण्डको बिहीबार मन्त्री सोडारीसहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशनसमेत दिएका छन्। खलंगा खार हुँदै गोकुलेश्वर जोड्ने सडक निर्माणसम्पन्न पश्चात अहिलेको महाकाली लोकमार्ग भन्दा आधा कम सडक हुनेछ । यो सडकले महाकाली नगरपालिका, नौगाड गाउँपालिका, र शैल्यशिखर नगरपालिकालाई जोड्ने गर्दछ ।मन्त्री सोडारीले सडक अनुगमन पछि सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै निर्माण कार्यलाई तिव्रता दिने गरी कार्य गर्न निर्देशन दिएको हुन् ।
उनले दार्चुलाको त्रिदेशीय नाका व्याँसको विकासकोलागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका छन्। उक्त सडक साढे १६ करोडको लागतमा निर्माण भइरहेको पूर्वधार विकास कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार सडकको निर्माण सम्पन्न गर्न तीन वर्षे सम्झौता भएको छ। यो वर्ष साढे ८ किलोमिटर सडक खण्डको ग्राभेल गर्न साढे ३ करोड बजेट विनियोजन भएको खत्रीले बताए ।सडक ग्राभेल गर्न सिएडी ग्वालेक जेभी सँग सम्झौता भएको छ।