कैलाली। सुदूरपश्चिममा बाढीका कारण क्षती बेहोरेका किसानहरु अझै राहत पाउन सकेका छैनन् । डेढ महिनाअघि बेमौसमी वर्षासंगै आएको बाढीका कारण धेरै जनधनको क्षती गर्यो। तर सुदूरपश्चिममा बाढीका कारण धान लगायत अन्य बाली तथा पशुपन्छीमा क्षती बेहोरेका किसानले अझै राहात पाउन नसकेका हुन।
धान, अन्य बाली र पशुपन्छीमा गरी ६ अर्ब ९६ करोड ८९ लाख २६ हजार बढीको क्षति भएको प्रदेश सरकारले जनाएको छ । बाढीले वितण्डा मच्चाएका बेला प्रदेश सरकारले किसानहरूलाई राहत उपलब्ध गराउने बताए पनि हालसम्म त्यसतर्फ ठोस निर्णय गरेको छैन ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिमभरि कुल २ लाख २ हजार ४ सय ५ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो । जसमध्ये मध्ये बाढीले ८४ हजार ९१७ हेक्टर क्षेत्रफलमा ६ अर्ब ७६ करोड ३२ लाख एक हजार मूल्य बराबरको क्षति गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुश्मीका अनुसार कैलालीमा सबैभन्दा बढी ६३ हजार ६ सय १० हेक्टरमा लगाइएको ४ अर्ब ६३ करोड ३४ लाख ७ हजार मूल्य बराबरको,कञ्चनपुरमा १६ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा लगाइएको १ अर्ब ८१ करोड ६६ लाख ९ हजार मूल्य बराबरको धान बाली नष्ट भएको छ ।
यस्तै, आलु, मसला, तोरी र मसला बालीमा भएको क्षतिमा २२ करोड ९२ लाख ६६ हजार मूल्यको, सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी २ हजार ६ सय ३३ हेक्टरमा लगाइएको आलु नष्ट भएको र त्यसमा भएको क्षतिमा ५ करोड २६ लाख ६४ हजार राहत दिन रकम आवश्यक पर्नेछ । यस्तै, ५ करोड ३३ लाख ३६ हजार रकम राहत उपलब्ध गराउनुपर्ने २ हजार ५ सय ६७ हेक्टरमा लगाइएको तरकारी बाली नष्ट भएको छ । ४ हजार ९ सय १६ हेक्टरमा लगाइएको तोरी बालीमा क्षति पुगेको छ । त्यसका लागि ९ करोड ८३ लाख २० हजार राहत दिन रकम आवश्यक पर्ने मन्त्रालयको भनाइ छ । २ सय ७९ हेक्टरमा लगाईको मसला बाली क्षति हुँदा ६० हजार राहत दिन रकम चाहिने कुश्मीले बताए । बमौसमी बर्षाले सुदूरपश्चिममा पशुपन्छीमा पनि करोडौंको क्षति भएको विवरण तयार गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी कुश्मीका अनुसार ३३ करोड ९६ लाख ७४० पशुपन्छीमा भएको क्षतिमा राहत प्रदान गर्न रकम आवश्यक पर्ने भएको छ । मन्त्रालयका अनुसार प्रदेशभर २२१ गाई, ५६ भैंसी, १ हजार ३६७ बाख्रा, १६६ बंगुर, ११ हजार २ सय कुखुरा फार्ममा क्षति पुगेको छ । प्राकृतिक विपद्बाट बाली र पशुपन्छी क्षति भएर आहत भएका किसानले राहतको अपेक्षा गर्दै आएका छन् । धनगढीको घुर्सुवाका किसान रामकमल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताए । ‘क्षतिको त कुरै नगरौं, जति दिने हो राहत चाँडो दिए हुन्थ्यो,’ उनले भने ।
मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहरा धान बालीमा भएको क्षतिमा संघीय सरकारले राहत उपलब्ध गराउने भनेकाले त्यस अनुसार प्रक्रियामा रहेको बताए । पशुपन्छी र अन्य बालीमा भएको क्षतिमा किसानहरूलाई राहत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उनले जनाए । प्रवक्ता बोहराका अनुसार बेमौसमी वर्षापछिको बाढीबाट भएको क्षतिबाट किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोड राहत कोषमा उपलब्ध गराइसकेको छ । जिल्लाबाट आएको अन्तिम सिफारिसपछि पशुपन्छी र अन्य बालीमा भएको क्षतिमा मापदण्ड अनुसारको राहत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उनको भनाइ छ । ‘राहत मापदण्डमा न्यून रकम पाउने व्यवस्था रहेकाले सरकारले उपलब्ध गराएको रकम पुग्ने हाम्रो अनुमान छ,’ प्रवक्ता बोहराले भने ‘अब चाँडै किसानले राहत पाउने अवस्था बन्छ ।’


