काठमाण्डौ। आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।
सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ। सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ । अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना रहेका छन् ।
असुरक्षित यौनसम्पर्क नै एचआईभी एड्सको मुख्य कारण रहेको केन्द्रका निर्देशक डा.सुधा देवकोटाले बताउनुभयो । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि मुख्य कारण मानिएको छ । नियमित रुपमा एन्टिरेट्रो भाइरल औषधि सेवन गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ । दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।