धनगढी। कैलालीको धनगढीबाट ५२ क्वीन्टल अवैध चिनीसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय बिशाल गुप्ता र २१ वर्षीय सुरेश मण्डललाई पक्राउ गरेको हो ।
उनीहरुले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा भाडामा लिई संचालन गरेको पसल खानतलासी गर्दा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको ५२ क्विन्टल चिनी तौल गर्दै गरेको अवस्थामा अवैध चिनीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
साथै बोरा सिलाउने मेसिन तथा डिजिटल तराजुसमेत गरी अवैध ४ लाख बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनासहित सामान भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरीले जनाएको छ।