धनगढी। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो १२ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको जानकारी दिए । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ।
यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी समेत गरेका छन्।