धनगढी। कैलालीमा भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। कैलालीमा चक्कु प्रहार गरेर लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका हुन्।
कैलाली लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानी बस्ने बर्ष १९ का मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा जिल्ला सुनसरी धरान उप महानगरपालिका वडा नं ४ स्थितबाट पक्राउ गरिएको हो। उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्। देवकोटा बाहेक पक्राउ परेका अन्य ९ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ।