धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको खुलेको छ । हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ । अन्य फरार छन् । गतसाता टीकापुरमा भुपेन्द्रको हत्या भएको थियो ।
होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन् । नवीनसँगै अरु पनि फरार छन् । फरार सूचीमा मदन शाही पनि छन् । मदन शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको खुलेको प्रहरी स्रोतको दावी छ ।
हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परिसकेका छन् ।
यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन् । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय छ ।