धनगढी। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ। रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन्।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज समापन भएको छ। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।
कैलालीको धनगढीस्थीत मोहना घाटमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो।कैलालीको धनगढीस्थीत मोहना नदीकिनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । भक्तजनले बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपासना सम्पन्न गरेका छन् ।बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ ।


