कैलाली। कैलालीको लम्कीमा प्रदर्शनकारीले फेरि यातायात बन्द गराएका छन्। हत्या आरोपीमाथि कारवाहीको माग गर्दै कैलालीको लम्कीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग बुधबार दिउँसो केहीबेर खुले पनि फेरि अवरुद्ध गरिएको छ।
भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाहीको माग गर्दै मृतकका आफन्तजनले राजमार्ग अवरुद्ध गरेका हुन् । पीडित पक्षले हत्यामा संलग्न सबैलाई पक्राउ नगरिएको भन्दै राजमार्ग अवरुद्ध गरेका छन्।
आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। यद्यपि मृतकका आफन्त भेला भएर यातायात सञ्चालनमा अवरोध गरेका छन्। मंगलबार राति लम्कीका व्यापारी डम्वर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको हत्या गरिएको थियो । प्रहरीले हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेको छ भने अन्य केही अझै फरार छन् ।