सल्यान। सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो ।
बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी)गोविन्द थापाले जानकारी दिए ।बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन्।
त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो। दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ। तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ।


