धनगढी। सुदूरपश्चिमका अस्थायी राजधानी धनगढीमा आपराधिक क्रियाकलाप हुन नदिन विशेष योजना बनाएर योजना लागु गर्ने प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय धनगढीले माथिल्ला सुरक्षा निकाय र स्थानीय नागरिकसँगको सहकार्यमा विशेष सुरक्षा योजना लागु गर्ने भएको हो।धनगढीभित्र हुने आपराधिक गतिविधिहरूमा सबैभन्दा बढी चोरीका घटना छन्। बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले पछिल्लो ३ महिनामा चोरीका घटना सबैभन्दा बढी प्रहरीकहाँ आएको बताए।
उनका अनुसार लागु औषध प्रयोग र कारोवार, यातायात भाडामा ठगी, मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्नेहरू पनि ठुलो संख्यामा प्रहरीका कारबाहीमा परेका छन्। मुख्य बजारदेखि सीमावर्ती बस्तीमा हुने चोरीका घटना न्यूनीकरण गर्न वडा प्रहरी कार्यालयले समुदायसँगको साझेदारीमा काम गरिरहेको जैशीले बताए । साथै उनले सीमानाका हुने चोरी तस्करी, लागूपदार्थ सम्बन्धी अपराध नियन्त्रणका लागि माथिल्ला निकायसँग सहकार्य भइरहेको उनले बताए । तिहार र छठलाई लक्षित गरी यात्रु सहायता कक्ष, मास्क वितरण लगायतका कामहरू निरन्तर गरिने उनले बताए । अपराध हुन नदिन विशेष योजना बनाएर काम गर्ने दाबी उनको छ ।


