धनगढी : लगातार तिन दिनसम्म भएको बर्षाका कारण कर्णाली नदि टिकापुरमा पसेपछि यहाँका झण्डै पाँच हजार घरपरिवार बाढीबाट प्रभावित भएका छन् । कैलालीको पुर्वी क्षेत्र टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले निकै प्रभाव पारेको छ । कर्णाली नदीमा आएको बाढीले थुप्रै गाउँ डुबानमा पारेको छ । विभिन्न स्थानमा तटबन्ध भत्काएर नदी गाउँ पसेपछि यहाँका बासिन्दाको बिचल्ली भएको छ । बाढीबाट प्रभावित भएका नागरिकहरु राहतको पर्खाइमा छन् ।
बाढीबाट कैलालीको पुर्वी क्षेत्र तहसनहस पारेको छ । ९ दशकपछिको यो बाढीले यो क्षेत्रमा निकै क्षती पु¥याएको छ । टिकापुर नगरपालिकाभित्र मात्रै ३ हजार बढी घर परिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ । बाढीले सूर्यपुर, बसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटा लगायतका गाउँमा बढी असर पारेको छ । बाढीले विस्तापित हुने घरपरिवारको यकिन विवरण अँझै आउन सकेको छैन ।
अहिले मानिसहरु सुरक्षित स्थानमा सरेका छन् । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ । बाढीबाट प्रभावित भएकाहरु राहतको पर्खाइमा छन् । कयौँका घर भत्केका छन्, भने अधिकाशं नागरिकले घरभित्र राखेको खाद्यान्न जोगाउन पाएनन् । ज्यान भने जोगाउन सफल भएका छन् ।
टिकापुर नगरपालिका ५ का सम्भु परियारले बाढीले भएको खाद्यान्न सबै बगाएको बताए । बाढी बढ्ने संकेतपछि आफु त सुरक्षित स्थानमा गएर बाच्यौँ तर घरमा भएको खाद्यान्न बचाउन सकेनौँ उनले भने ‘अब खाद्यान्न केही छैन अहिलेसम्म कोही राहत दिनपनि आउनुभएको छैन के खाने के लाउने निकै समस्या छ ।’
टिकापुर ५ कै अजित रावलको बाढीले पुरै घर भत्काएको छ । बाढीले घरनै भत्काएपछि उनिसंग अब खाद्यान्न छैन । खाद्यान्न सहित पुरै बाढीले लग्यो के खानु त उनले भने ‘त्यो बाढि सम्झिदा त बाँचिन्छ झैँ लागेको थिएन तर बाँच्न त बाँचियो अब खान लाउन चाहीँ गाह्रो भो ।’
बाढीबाट टिकापुरको वडा नं. ५ का सय बढी परिवार बसन्तास्थित त्रिभुवन राष्टिय माविमा सारिएको छ भने वडा नं. ८ को वनगाउँ, अर्नुवा क्षेत्रका शय बढी परिवारलाई राष्टिय निमावि सूर्यपुरमा सारिएको छ । त्यस्तै जानकी गाँउपालिकामा कर्णाली नदीको भँगालो कुलरीया र जमरा कुलो हुँदै बस्तीमा पस्दा यहाँका बासिन्दापनि निकै प्रभावित भएका छन् ।
चिसापानी नजिकै रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहरको बाँध फुटेर जानकी गाउँपालिकाका मुर्तीया, धनुवाफाँटा, कुन्ती, पूर्व खैरीफाँटा, जगतपुर, लायकपुर लगायतका गाउँमा असर पारेको छ । यहाँ झण्डै एक हजार घरपरिवार बाढीले विस्तापित भएको गाउँपालिकाले जनाएको छ । बाढी प्रभावितलाई सुरक्षित स्थानमा बस्न र खाद्यान्नको जोहो गर्नै धौ धौ भइरहेको छ ।
नहरबाट एक्कासी बाढी गाउँ पस्यो झन्न जसोतसो भाँगेर बाच्यौँ जानकी गाउँपालिका ३ का छबिलाल माझीले भने ‘अहिले गाउँ पुरै हिलै हिलो छ घर समेत नचिनिने अवस्था छ न खेतको धान रह्यो न भित्रको खाद्यान्न ।’ के गर्नु कतैबाट राहत अनी सरकारबाट क्षतीपुर्ती भए हामीलाई खान लाउन पुग्थ्यो की ।
बाढीले लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका समेत केही बस्तीमा क्षति पुर्याएको छ । ती ठाउँको यकिन विवरण आउन सकेको छैन । कतिपय गाउँका बासिन्दासँग सम्पर्क समेत हुन सकेको छैन । बाढीबाट प्रभावितहरुलाई राहत र क्षतीपुर्तीका लागी यहाँका सांसदहरुले समेत माग गरेका छन् । पिडितको उद्धार र राहत उपलब्ध गराउन तर्फ सरकार तत्काल लाग्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।
नेपाली काग्रेंस सुदूरपश्चिम प्रदेश संसदय दलका नेता डा.रण बहादूर रावलले तत्काल बाढि पिडितलाई राहत उपलब्ध गराउन सरकारलाई माग गरे । सरकार जति गम्भिर हुनुपर्ने हो त्यती भएको पाइएन रावलले भने ‘यहाँका जनता निकै समस्यामा छन् तत्काल राहत उपलब्ध गराउनुपर्छ मान्छे भोकले मर्न लागीसके राहत १ महिनापछि ल्याएको अर्थ छैन सरकारको उपस्थिती देखिनुपर्छ ।’
संघ सरकारलाई राहतका लागी आग्रह गरिसकेको उनले बताए । साथै प्रदेश सरकारलाइपनि जानकारी गराइसकेकोले चाँडै सुनुवाई हुनेमा उनले बिश्वास ब्यक्त गरे ।
एमाले सांसद रतन थापालेपनि आफ्नो क्षेत्रको क्षतीबारे सरकारलाई जानकारी गराइसकेको बताए । हामी शुरुबाटै फिल्डमा छौँ उद्धारमा सहयोग गरिरहेका छौँ थापाले भने क्षतीको बिवरण प्रदेश सरकारलाई जानकारी गराइसकेका छौँ सरकारले तत्काल सुनुवाई गर्नुपर्छ ।’
बाढीले टिकापुरका मात्रै नभई सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक समेत निकै प्रभावित छन् । बाढी पहिरोबाट सुदूरपश्चिममा ३० जनाले ज्यान गुमाइसकेका छन्, अँझै धेरै नागरिक बेपत्ता छन्, भने धेरै नागरिक प्रभावित छन् ।