धनगढी,१७ असोज । कैलाली कञ्चनपुरको सिमा नाका गौरीफन्टा पुर्ण रुपमा खुलेको छ । यस अघि नाकामा भारतीय सवारीमा लगाइएको रोक समेत हटेको छ।
गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार सो नाकामा भारतीय नीजि सवारी साधन सञ्चालन भएका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार संघीय सरकारको आदेश अनुसार सीमानाका खोल्ने निर्णय गरेको बताए ।भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकले भने विभिन्न मापदण्डहरु पुरा गर्नुपर्ने प्रावधान बनाइएको छ।
नेपाल प्रवेश गर्ने भारतीय नागरिकसँग ७२ घण्टा भन्दा पहिलाको पिसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने, कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको साइटमा प्राप्त हुने फर्म भरेर त्यसको प्रिन्टकपी हुनुपर्ने र कोरोनाको दुई डोज खोप लगाएको कार्ड साथमा हुनुपर्ने मापदण्ड तोकिएको छ।
सुदूरपश्चिमको पर्यटन र होटल व्यवसायालाई लयमा फर्काउन मुस्किल भइरहेका बेला यहाँका पर्यटकीय स्थल र होटलहरुमा भारतीय पर्यटक भित्रिएपछि मात्रै यस क्षेत्रको अर्थतन्त्र बलियो हुने विश्वास गरिएको छ।
यस्तै भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १ सय ५० र टेलरसहितको ट्याक्टरका लागि ७ सय ५० रुपैयाँ भन्सार काट्नु पर्ने जनाएको छ ।