धनगढी । सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको हो ।
अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी छ । अबको २५ दिनमा फिलिङ स्टेशन पनि आइपुग्छ । प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन भण्डारण गरेर राखेर आवश्यकता परेका बेला आपुर्ति गर्न सकिने विश्वास गरिएको छ । सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट खरीदका लागि टेण्डर आह्वान गरेपनि रद्द भएको थियो।
अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालन आउन अझै एक महिना लाग्ने भएको हो । संघिय सरकारको बजेटमा सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन थालेको हो । कोरोनाको दोस्रो लहरको समयमा अक्सिजन नपाएर कतिपय कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।
सोही समस्या आउन नदिन सेती प्रादेशिक अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । “अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ,”उनले भने,“ कतिपय सामाग्रीहरु आइपुगेका छैनन् प्लान्ट सञ्चालनमा आउन अझै एक महिना सम्म लाग्ने छ ।” यो प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजनको अभावमा कुनै पनि संक्रमित व्यक्तिले ज्यान गुमाउन नपर्ने उनले जानकारी दिए ।

