धनगढी। नेकपा एमाले बिभाजनसंगै यस्ले प्रदेश तहमा पनि बिभाजनको असर पारेको छ । एमालेबाट अलग भएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठन भैसकेको छ। नेकपा एकीकृत समाजवादी गठन भैसकेपछि अहिले पाटीमा प्रवेश गर्नेहरुको संख्या खुल्नेक्रम बढेको छ।
एमाले बिभाजन पछि यस्को असर यता सुदूर पश्चिम प्रदेश सरकारको समिकरणमा समेत पर्ने देखीएको छ। यतिबेला एमाले र समाजवादी दुबै पार्टी बहुमत आफ्नो पक्षमा हुने दावी त गरिरहेका छन्, तर दुबै पक्षमा कति जना प्रदेश सभा सदस्य छन्, दुबै पक्षले प्रष्ट पार्न सकेका छैनन, बहुमत पु¥याउन दुबै पक्षको कसरत भने जारी छ। सुदूर प्रदेश सरकारको नेतृत्व यतिबेला माओवादी केन्द्रका त्रिलोचन भट्टले गरिरहेका छन् । र, माओवादीलाई नेकपा एमाले टुक्रिनु अघिको माधव नेपाल समूहको साथ छ।
नेकपा संसदीय दलका नेता प्रकाश शाहले केही महिना अघि सरकारमा रहेका ओली पक्षीय मन्त्रीहरु पठान सिंह बोहरा र झपट बोहरालाई हटाएर माधव पक्षीय सांसदहरुलाई मन्त्री बनाएका थिए। तिनै शाह माधव नेपाल नेतृत्वको समाजवादीमा गएनन । उनी यतिबेला आफैले कारबाही गरेकाहरुको कित्तामा उभिएका छन्। शाहले पार्टी बिभाजनकै क्रममा आफू एकताको पक्षमा भएको प्रष्ट पारेका थिए। सुदूर पश्चिम प्रदेश सभामा ५३ जना जना सदस्य छन्। नेकपा एमालेका २५ जना सांसद थिए। पार्टी बिभाजनअघि माधव नेपाल समूहका पक्षमा १७ जना प्रदेश सभा सदस्य थिए । तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा पनि माधव नेपाल पक्षधर मानिन्छन।
नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले समाजवादी पार्टीमा बहुमत सदस्य रहेको बताईन। प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी बन्ने निश्चित छ, उनले भनिन, बहुमत सदस्य हाम्रो दलमा आवद्ध भईसकेका छन् । जोशीसंगै पूर्व मन्त्री माया भट्ट समाजवादीको केन्द्रीय सदस्य बनेकी छन् । भौतिक पूर्बाधार मन्त्री दीर्घ सोडारीले आफू माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा रहेको प्रष्ट पारिसकेका छन् । उनले आफूसंगै बल बहादुर सोडारी, अमर साउँद लगायत बिगतमा आफ्नो साथमा रहेका आधा दर्जन बढि सांसदहरु समाजवादी पार्टीमा रहेको दावी गर्दै आएका छन् । सोडारीले सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व समाजवादी पार्टीको दावी रहने बताउदै आएका छन् ।
नेकपा संसदीय दलका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र कुलवीर चौधरी पनि माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री, लाल बहादुर खड्का, राज्य मन्त्री मना साउँद, राज्य मन्त्री चुनकुमारी चौधरी पनि समाजवादी पार्टीको पक्षमा छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खड्काले आफू समाजवादी पार्टीमा रहेको प्रष्ट पारेका छन् । राज्यमन्त्री अर्चना गहतराज पनि समाजवादी पार्टीका पक्षमा रहेको समाजवादी पार्टीकी केन्द्रीय सदस्य जोशीले बताईन । १३ जना प्रदेश सभा सदस्य हाम्रो पक्षमा खुलिसकेका छन्, यो संख्या अझै बढ्ने छ, समाजवादीका एक नेताले भने, प्रदेश सभामा हाम्रो दल सबै ठूलो हुने छ । बिगतमा माधव नेपाल समूह अन्तर्गत भीम रावलको पक्षमा रहेको १७ जनामध्ये रावल नेकपा एमालेमा फर्किएपछि रावललाई प्रकाश शाह र प्रकाश रावलले मात्र खुलेर साथ दिएका छन् । सुदूर पश्चिम प्रदेश सभामा नेकपा संसदीय दलको नेता रहेका शाह एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
एमाले उपाध्यक्ष भीम रावलका भिनाजु प्रदेश सभा सदस्य हर्क कुवँर गोविन्द समेत नेकपा एमालेका पक्षमा अहिलेसम्म खुलेका छैनन । उनले आफू प्रतिगमन र अतिवादका विरुद्धमा लडेकोले अतिवाद र प्रतिगमनको पक्षमा नहुने बताएका थिए । उनको भनाईको आशयले उनी केपी शर्मा ओलीलाई साथ नदिने देखिन्छ । नेकपा एमालेका पक्षमा रहेका प्रदेश सभा सदस्य प्रकाश रावलले निर्वाचन आयोगमा गएर एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेसम्म सबै सांसदहरु एमाले नै रहने बताए । उनले भने, अहिलेसम्म कसैले निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छैनन । त्यसैले अहिलेसम्म सबै एमालेमै छन् ।
मन्त्रीहरु आफ्नो पद जोगाउने कसरतमा छन् । मन्त्री नभएकाहरु मन्त्री पद पाउनका लागि कसरत गरिरहेका छन् ।नेकपा एमालेका पक्षमा जानेहरुले मन्त्री पद गुमाउनु पर्ने भएकोले एमालेका धेरै प्रदेश सभा सदस्यहरु कता जाने भन्ने दुबिधामा छन् । मन्त्री पद जोगाईरहनका लागि भने धेरै प्रदेश सभा सदस्यहरु एकीकृत समाजवादी पक्षमा जाने देखिन्छ । पार्टी बिभाजनपछि नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिने निश्चित छ । प्रदेश सभाहरुले आफ्नो कित्ता प्रष्ट पारेकै दिन एमाले सरकारबाट बाहिरिनेछ । त्यसपछि भने माओवादी केन्द्र, नेपाली काँग्रेस, समाजवादी पार्टी र जनता समाजवादीको संयुक्त सरकार बन्ने छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, काँग्रेसका १२ र जसपाका २ जना सांसद छन् । पछिल्लो समय नेपाली काँग्रेसले प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेको छ । एमाले र समाजवादीको साथ बिना पनि काँग्रेसलाई सरकार बनाउन आवश्यक संख्या २७ जना जुट्ने देखिन्छ ।