धनगढी। लेखराज भट्टको निर्वाचन क्षेत्रमा माओवादीको सङ्गठन बिस्तारक्रम तिब्र पारिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सङ्गठन बिस्तार तिब्र पार्दै लेखराज भट्टको निर्वाचन क्षेत्रमा सङ्गठन बिस्तार तिब्र बनाएको हो ।
जस अन्तरगत माओवादीको सङ्गठन बिस्तार तिब्र पार्ने क्रममा कैलालीको गोदावरीका ८ वडामा कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कैलाली जिल्ला कमिटी सदस्य तथा गोदावरी सह इन्चार्ज धर्म कुवरले जानकारी दिए । जिल्ला कमिटी सदस्य तथा गोदावरी सह इन्चार्ज कुँवरले सबै क्षेत्रमा माओवादीको सङ्गठन बिस्तार तिब्र बनाएको र कैलालीको चुरेका सबै वडा भेला सकेर पालिका सम्मेलन समेत सकिएको जानकारी दिए ।
सङ्गठन बिस्तार तिब्र बनाएको र अब पार्टी झन बलियो बन्दै जाने कुवँरले दावी गरे । यस्तै कार्यक्रममा सहभागि कार्यकर्ताहरुले लेखराजले पार्टी छोडेर जनतामाथी समेत धोका दिएको बताउँदै अब लेखराजलाइ चुनाबमा बेमौत हराउने बताएका छन्।
हाल लेखराज भट्ट नेकपा माओवादी केन्द्र छोडेर ओलीको पक्षमा छन्। प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका थिए। केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको थियो। विसं २०१६ सालमा डोटीको सम्पन्न परिवारमा जन्मिएका र २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका भट्टसँग यसअघि श्रम मन्त्री र वाणिज्य तथा आपूर्ति मन्त्री बनेको अनुभव भट्टको छ ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा लेखराजलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका थिए । २०५१ सालमा बागबजारको भित्तोकाण्डमा डा.बाबुराम भट्टराईमाथिको आक्रमण योजना विफल पारेको श्रेय पाउने गरेका लेखराजलाई डा. भट्टराईले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिएका थिए । कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र (आईए) पास गरेका भट्टले भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक पास गरेका छन् ।
बुवा दशरथले कांग्रेसको राजनीति गरे पनि लेखराज भने भीमदत्त पन्तको किसान आन्दोलनबाट प्रभावित हुँदै कम्युनिष्ट नेता बनेर उदाए । खान लाउन नपुग्ने गरिबहरु मात्र कम्युनिष्ट हुन्छन् भन्ने सोच राख्नेहरुले लेखराजलाई ‘सामन्त कम्युनिष्ट’ भन्ने गर्थे । कम्युनिष्ट पार्टीको सदस्यता २०२३ सालमा लिएका लेखराजले शाही परिवार धीरेन्द्रको लगानी रहेको भनिने कैलालीको लक्ष्मीपत्ता उद्योगमा मजदुर आन्दोलनको नेतृत्व गरे ।
लेखराज २०५२ सालदेखि प्रचण्ड नेतृत्वको जनयुद्धमा पूर्णकालीन रुपमा लागे । ०५७ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बने । जनयुद्धको समयमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पश्चिम व्युरो इञ्चार्ज हुँदा लेखराज त्यसको कार्यालय सचिव थिए । उनी २०५४ सालमा फुन्टिवाङ बैठकपछि सेती-महाकाली व्युरो इञ्चार्ज र २०६० सालमा माओवादीको सेती-महाकाली जनसरकार प्रमुख पनि बने । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको हाल उनी स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज छन् । भट्ट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट र ०७४ सालमा प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।


