धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुल निर्माणधीन अवस्थामै रहेका वेला मोहना नदीले धार परिवर्तन गर्न थालेको छ । निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएपनि पुल अधुरै रहेको अवस्थामा नीले धार परिवर्तन गरेपछि पुल बनेपछि प्रयोग विहीन हुने अवस्थामा पुगेको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्षको अवधीमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ७ वर्ष पूरा हुँदा समेत पुल निर्माणको काम अधुरै रहेको छ । मोहना नदीले धार परिवर्तन गरेपछि थप समस्या भएको धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का स्थानीय राजबहादुर ऐरले बताए ।
धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको छ । मोहना नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था रहेको छ । तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता रहेको छ ।