धनगढी : कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ । जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले सो अभियान शुरु भएको हो । जिल्लामा नयाँ प्रहरी प्रमुख बिश्व अधिकारी आएसगै उनले फरक ढंगले अपराध नियन्त्रण गर्ने भन्दै सो कार्यक्रम लागु गर्ने बताएका हुन् । यस कार्यक्रमले जिल्लामा हुने लागु औषध सेवन तथा कारोबारमा कमी आउनुका साथै अपराधिक क्रियाकलापमा कमी आउने अपेक्षा लिइएको छ । अपराध नियन्त्रणका लागी कैलाली प्रहरीले फरक तरिका अपनाउन थालेको छ । जनताबाटै अपराध हुने र जनतासंगै रहेर अपराधिहरुलाई प्रहरीले नियन्त्रणमा ल्याउन सक्ने भन्दै कैलाली प्रहरीले ‘हाम्रा प्रहरीसँग हामी’अभियान सञ्चालनमा ल्याएको हो । जिल्लामा नयाँ प्रहरी प्रमुख बिश्व अधिकारी आएसंगै यो कार्यक्रम सञ्चालन भएको हो ।
देशमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमका परिकल्पनाकार समेत रहेका अधिकारीले कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’अभियान सञ्चालनमा ल्याउन लागेका हुन् । नयाँ प्रहरी प्रमुख अधिकारीले ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने अभियान लिएर जनताको भावनाअनुसार अपराधिक गतिविधि रोक्ने दावी गरे । हामी अपराधको जरो उखेल्ने गरी काम गर्ने छौँ प्रहरी प्रमुख अधिकारीले भने ‘म यही जिल्लामा जन्मेको नागरिक भएका कारणपनि मैले केही गरेर देखाउनु छ यहाँका सबै नागरिकसंग सहकार्य गरेर अपराधिक क्रियाकलापलाई न्युनमा झार्ने तर्फ म केन्द्रित हुने छु ।’ एक्लै प्रहरीले चाहेर मात्रै काम गर्न सक्दैन जनताको साथ पुर्ण चाहिन्छ उनले भने ‘ त्यसैले हाम्रा प्रहरीसँग हामी’अभियान ल्याएका छौँ यो समुदाय प्रहरी साझेदारी कार्यक्रम झैँ जनतासंगको सहकार्य बढाएर अपराध न्युनिकरण गर्ने योजना हो ।’
यस्तै लागुऔषबाट युवा बचाउनका ‘सेफ फ्युचर’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । भारतसँग सीमाना जोडिएको कैलाली लागुऔषध कारोबारको ‘हव’ हुँदै गएको भन्दै युवाको भविष्य बचाउन कैलाली प्रहरीले उक्त कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लागुऔषधको क्षेत्रमा गर्नुपर्ने कामहरु छन् । अप्रेशन सेफ फिउचरको नामले काम गरेर नागरिक– समुदायको समेत सहयोग आवश्यक रहेको प्रहरी प्रमुख अधिकारीले बताए । लागुऔषका प्रयोगकता तथा कारोबारीहरुका बारेमा समुदायलाई बढी जानकारी हुने भएकाले सूचना दिन उनले आग्रह गरे। किशोर–किशोरी तथा युवाहरुलाई सुरक्षित राख्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रहरी प्रमुख अधिकारीले भने ‘अपराधिक क्रियाकलाप बढीजसो लागु औषधका कारणबाट भइरहेका छन् यसलाई रोक्न ‘सेफ फ्युचर’ कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्छ ।’ लागुऔषधको सेवन र कारोबारलाई शुन्यमा झार्न कैलाली प्रहरी सक्रिय छ उनले भने ‘हामीलाई आम जनताको साथ चाहिएको छ यहाँबाट म केही फरक गरेर जाने छु ।’जिल्लामा जबरजस्ती करणीका मुद्दामा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ९२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए । यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा १ सय ३ वटा मुद्दा भएका छन् । गत आर्थिक वर्षमा ११ दशमलव ९५ प्रतिशतले जबरजस्ती करणीका मुद्दा वृद्धि भएको कैलाली प्रहरीले बताएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा बहुविवाहका २९ मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या ६५ दशमलव ५१ प्रतिशतले बढेर ४८ पुगेको छ । त्यसैगरी गत आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या २६७ रहेको छ । त्यो संख्या आर्थिक वर्ष २०७६/०७७ मा २२२ रहेको थियो । यस्तै प्रहरीमा लागूऔषधका ९१ मुद्दा दर्ता भएका छन् । जबकी आर्थिक वर्ष २०७६/०७७ मा त्यो संख्या ९८ रहेको थियो ।