दार्चुला। जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु गरेको छ । कार्यालयले यहाँका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाहरुमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ। कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम सुरु गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिए। जिल्लाका कूल मतदाता सङ्ख्या ७८ हजार ५ सय १३ जना रहेको कार्यालयले जनाएको छ।
ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको निर्वाचन अधिकारी धामीले बताउनु भयो । विसं २०७४ मा भएको प्रतिनिधिसभाका निर्वाचनमा जिल्लामा सङ्ख्या ७८ हजार ५ सय १३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । अहिले मतदाता सङ्ख्या ५ हजारले बढने अनुमान गरिएको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिर्वतन, श्रीमान्, श्रीमतीको नाम परिर्वतन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ। थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह समेत गरेको छ ।

