धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम धनगढी उप महानगरपालिकामा पानी निकासको दीर्घकालिन योजना नबन्दा बर्षेनी डुवान पर्ने गरेको छ । एका तर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्को तर्फ भएका नाला समेत बन्द छन् । उप महानगरपालिकाले यी खोला नाला खोलेर पानी निकासको ब्यवस्थापन गर्न नसक्दा सानो झरिमै उप महानगर जलमग्न बन्ने गरेको छ । पानी निकासकै ब्यवस्थापनमा उप महानगर चुक्दा अहिले धनगढीका २ वडाबासी बिच निकै द्वन्द्व बढेको छ । धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो । वडा नम्बर ३ बाट बग्ने पानीले डुवान हुने भन्दै वडा नम्बर २ बासीले नालानै बन्द गरिदिएपछि बिवाद बढेको हो । वडा नम्बर २ का बासिन्दाले नाला बन्द गरेपछि वडा नम्बर ३ का करिब ८ सय घर परिवार डुवानबाट प्रभावित भएका छन् । वडा नम्बर २ का स्थानीयले पानीको बहाव रोकेपछि विद्युत प्राधिकरण र घरहरु डुबानमा परेका छन् ।
धनगढी उप महानगरपालिका ३ का धर्मराज सापकोटाले वडा नम्बर ३ बाट निकास हुने नाला २ नम्बर बासीले रोक्दा सानो झरीमै ३ नम्बर वडा डुवानमा परेको बताए । मोहना अत्तरिया ६ लेन सडकमा बनाएको नाला २ नम्बर बासीले बन्द गरिदिएको छ त्यस कारण हामीले डुवानमा पर्नुपरेको छ उनले भने ‘नाला रोकेर समस्याको समाधान त होइन नी हाम्रो वडा पुरै डुब्नेवाला छ यसको निकास चाँडै हुनुपर्छ ।’
धनगढी ३ कै राधिका रावलले नाला बन्द गरिदा आफ्ना घर डुवेको बताइन् । २ नम्बर बासीले बनाएका नाला बन्द गरेका छन् हामी डुवेका छौँ उनले भनिन् ‘नाला बन्द गरिदा हाम्रा घरभित्र पानी पसेको छ बेडमुनी पानी भरिएको छ कसरी बस्ने कसरी खाने ।’
उप महानगरपालिकाको वडा नम्बर ३ मा पर्ने डुवान रोकथामका लागी सम्बन्धित निकायले पटक पटक आश्वासन दिएपनि डुवान नियन्त्रणमा कसैले चासो नदिएको भन्दै जनप्रतिनिधीले समेत आक्रोस पोखेका छन् । संघिय संसद देखी प्रदेश संसद तथा उप महानगरका मेयरबाट समेत आश्वासन बाहेक केही नपाएकै कारण अहिले फेरी डुवानबाट प्रभावित हुनु परेको धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले बताए । २ नम्बर वडामा मात्रै पानी निकास गर्ने भन्दापनि सबै क्षेत्रको पानी निकासको ब्यवस्थापन हुनुपर्ने उनको भनाई छ ।
मैले चुनाव जित्ने बित्तिक्कै ३ नम्बर वडा डुवान समस्या समाधान गर्न सकै निकायलाई गुहारेको हुँ उनले भने ‘वडा नम्बर ३ बासीका समस्या कसैले सुन्नुभएन अहिले झन नालानै बन्द गरिदिए यसरी कसरी हामी डुवानबाट जोगिन्छौँ ।’
तर वडा नम्बर २ का स्थानीयले भने कुनै पनि हालतमा वडा नम्बर ३ को पानी आफ्नो वडाबाट निकास गर्न नदिने अडान लिएका छन् । उनीहरुले उक्त पानीले वडा डुबानमा पर्ने भन्दै निकास हुन नदिने बताएका हुन् । वडा नम्बर ३ को पानी ३ नम्बर बाटै र २ नम्बरको पानी २ नम्बरबाटै निकास हुनुपर्ने माग उनिहरुको छ । साथै मिचिएका नाला खोलेर सबै क्षेत्रको डुवान अन्त्य गर्न उप महानगरको ध्यान जानुपर्ने स्थानियको माग छ ।
धनगढी उप महानगरपालिका २ का स्थानिय बाबुराजा श्रेस्ठले डुवानको समस्या तत्कालिन नगरबिकास समितिले खोला नाला बेच्नुनै मुख्य कारण भएको बताए । अहिलेका जनप्रतिनिधीकै संलग्नतामा खोलानाला सबै बिक्रि भएका छन् यी खोला नाला कस्ले खोल्ने उनले भने ‘जबसम्म दीर्घकालिन समाधान हुने गरी सबै अतिक्रमण हटाएर नाला पुरानै अवस्थामा ल्याउन सकिन्न यो डुवान अन्त्य हुँदैन ।’
जनप्रतिनिधिले सबै मिलाएर पानी निकास गर्ने बताइरहेका छन् । दुवै वडालाई समस्या नपर्ने गरी पानी निकास हुनुपर्ने जनप्रतिनिधीको भनाई छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष नर बहादूर बम ले दुइवटै वडालाई क्षती नहुने गरी पानीको निकास निकाल्नुपर्ने बताए । वडा नम्बर २ बाट मात्रै निकास गरेर भएन ३ नम्बरबाटपनि निकास गरे दुइवटै वडा सुरक्षित हुन्छन् उनले भने ‘यो नाला खुले २ नम्बर वडाकापनि धेरै घर डुवान पर्छन अनी एउटा वडाबासीले डुवानमुक्त भएर अर्कोलाई दुख दिनुत भएन नी ।’
धनगढीको यो समस्या यहाँका नेता र समाजसेवी हुँ भन्नेहरुकै कारण बढेको हो । धनगढी नगर बिकास हुँदा खोला नाला समेत बिक्रि गरेपछि पानी निकास बन्द भएको हो । तत्कालका लागी केही नाला बनाएर वा होम पाइप हालेर डुवान समस्या कम भएपनि दीर्घकालिन समाधानका लागी मिचिएका खोला नाला खोलिन जरुरी छ ।
प्रहरी लगाएर नाला खोलियो
पानी निकास नभएको भन्दै विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेर नाला खुलाएको छ । नाला खुलाउने क्रममा कहिबेर प्रहरी र स्थानीयबिच धरपकड समेत भएको थियो । नाला खुलाउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
तर शुरक्षाकर्मीको उपस्थितीमा नाला खुलाएपनि प्रहरी गएसंगै फेरी वडा नम्बर २ बासीले नाला बन्द गरेका छन् । धनगढी उप महानगरपालिका ३ का अध्यक्ष बल बहादूर ऐरले फेरी २ नम्बरबासीले नाला बन्द भएको बताए । फेरी पानी बढिरहेको छ नाला बन्द गरिहाले अब झन डुवान हुने भयो उनले भने ।