कञ्चनपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेश भूगोलबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा, जनकराज चटौत, अम्बिकाकुमारी चलाउने, रिता शाही र भुवनराज भट्ट निर्वाचित भएका छन् । कांग्रेस संस्थापन पक्षको १८ असोजदेखि काठमाडौंमा सुरु भएको १५औँ महाधिवेशनमा खुलातर्फ विष्ट, थापा, चटौत, खुला महिलातर्फ चलाउने, ३५ वर्षमुनिका युवा महिलातर्फ र ३५ वर्षमुनि युवामा इन्जिनियर भुवनराज भट्ट निर्वाचित भएका हुन् ।
कञ्चनपुरका विष्ट, थापा र डडेल्धुराका चटौत सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । विष्ट र थापाले समान एक हजार ७९९, चटौतले दुई हजार ५०८ मत ल्याएका छन् । चलाउनेले तीन हजार ७५५, रिता शाहीले एक हजार ५९० र भट्टले तीन हजार ५२९ मत ल्याएर केन्द्रीय सदस्य सुरक्षित पारेका छन् ।
विष्ट र थापा संविधान सभा सदस्य एवं प्रदेश सभा सदस्य हुन् । ०७० मा विष्ट र थापा एकसाथ संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनीहरूले बराबरी मत ल्याएका छन् । थापाले प्रदेशको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका थिए भने विष्ट सुरुवाती चरणदेखि गगन पक्षकै जिल्लाका कट्टर नेता हुन् ।
पहिलोपटक विष्ट र थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । झन्डै साढे तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा यसअघि कञ्चनपुरको पूर्वसभापति भएर जिल्ला नेतृत्व सम्हालिसकेका नेता हुन् । यस्तै विष्ट निरन्तर महाधिवेशन सदस्य थिए । १४औँ महाधिवेशनमा पराजित भएका विष्ट १५औँ महाधिवेशनमा निर्वाचित भएका छन् ।पूर्वदेउवापक्षीय नेता पर्शुराम नगरप्रमुख भरत बडायर जोशीले ७४० मत पाएका छन् । यस्तै, कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरप्रसाद बोहराले एक हजार १९२ मत पाए ।
देउवापक्षीय कृष्णपुरका नेता पुष्करराज ओझाले एक हजार ५८५, लम्किचुहा नगरप्रमुख सुशीला शाहीले एक हजार ६४२, बैतडीकी जेन–जी नेपाल विद्यार्थी नेतृ भागरथी भट्टले ९१९ मत, कञ्चनपुरका पुराना कांग्रेस नेता प्रेम विष्टले ९७१ मत, कञ्चनपुरकै महिला नेतृ खिना भण्डारीले ७७५ मत प्राप्त गरे।
यस्तै, विकाल ढकालले ९प्रेमकुमारी भण्डारी० ४०१, सुमिता खडकाले ७७६, धीरज शाहीले ६६०, योगेन्द्र रावलले ८९८, सन्तोष खड्काले ८१८, विजयबहादुर स्वाँरले एक हजार ५९४, टीकाराम खनालले एक हजार १३४, दीपकबहादुर सिंहले एक हजार ३११, नन्दकृष्ण जोशीले एक हजार ५८३, पदमबहादुर शाहीले एक हजार ४९२, रामबहादुर रोकायाले ९६०, सिभी मल्लले ७१५, टिकेश्वरी हमालले ४९०, आनन्दी पन्त भट्टले ५६१ र पवित्रा विश्वकर्माले ९३४ मत ल्याएका छन् ।


