धनगढी । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले जितेको छ । धनगढी रंगशालामा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ विजेता बनेको हो । उपाधिसँगै विजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै, प्रतियोगितामा कैलाली जिल्ला भलिबल संघ उपविजेता बनेको छ । उपविजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा फुटबल खेलाडीबाहेक अन्य खेलका संघहरूको सहभागिता रहेको थियो । विभिन्न खेलसँग आबद्ध १६ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । फुटबल खेलमा अन्य खेलका खेलाडीलाई सहभागी गराएर आयोजना गरिएको प्रतियोगिताले खेलकुद क्षेत्रका खेलाडी तथा संघहरूबीच आपसी सम्बन्ध र सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न खेल संघबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल खेलकुद महासंघका प्रदेश सदस्य एवं प्रतियोगिता संयोजक हेमकृष्ण रञ्जितकारले बताए । उनका अनुसार खेलकुदका माध्यमबाट विभिन्न विधामा आबद्ध खेलाडी तथा खेल संघका प्रतिनिधिलाई एकै ठाउँमा जोड्ने र चाडपर्वको खुसी साटासाट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाल खेलकुद महासघं सुदुरपश्चिमका अध्यक्ष प्रकाश कुमार चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज विष्णुकुमार चन्द प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रतियोगिताले खेलकुद क्षेत्रका विभिन्न संघबीच आपसी एकता, सहकार्य र सद्भाव थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


