कञ्चनपुर — महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारु पाँच दिनपछि मृत अवस्थामा भेटिएका छन् । उनको शव बुधबार बेपत्ता भएको स्थानबाट १०र१५ मिटर दक्षिणतिर भेटिएको हो । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन र गोताखोर टोलीले लगातारको प्रयासपछि पाँचौं दिन शव फेला पारेको हो ।
सशस्त्र प्रहरीको दोधारा चाँदनी देवीस्थानस्थित सीमा सुरक्षा गुल्मका डिएसपी विश्व जिसीका अनुसार शव अड्किएको अवस्थामा भेटिएको हो । गत शनिबार झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा बोट अनियन्त्रित भएर असई थारु बेपत्ता भएका थिए । सोही दिनदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा खोजी सुरु गरेको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका थारुको परिवार समेत दोधारा चाँदनी पुगेको थियो । उनको खोजी चाडो गरिदिन माग गर्दै थारुका बुवा धनबहादुरले सशस्त्र प्रहरी लगायत सुरक्षा निकायसंग माग गरेका थिए ।
‘अब पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाएर अन्तिम संस्कार गरिनेछ,’ डिएसपी जिसीले भने ।


