धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको छ। नेकपा एमालेका प्रदेश सदस्य तथा युवा नेता प्रशान्त थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै यही अवस्था कायम रहे गठबन्धन सरकार नै ढल्न सक्ने संकेत गरेका छन्। थापाले बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेट र अहिले सार्वजनिक भएको बजेटमा खासै भिन्नता नदेखिएको टिप्पणी गरेका छन्।
उनका अनुसार अघिल्लो सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दलकै प्रतिनिधिहरूले खर्च कटौतीको प्रस्तावसमेत राखेका थिए। तर, अहिले सार्वजनिक भएको बजेट पनि उस्तै प्रकृतिको रहेको उनको भनाइ छ। थापाले बजेटका विषयमा पार्टीले गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रदेश सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले योजना छनोट र बजेट विनियोजनमा आर्थिक स्वार्थ हाबी भएको आरोपसमेत लगाएका छन्।
‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने टिप्पणी गर्दै थापाले सबै कमिसनको खेलमा लागेर योजना बेच्नतिर लागेको आरोप लगाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने थापाको यो अभिव्यक्तिले सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिलाई सतहमा ल्याएको छ। बजेटप्रतिको असन्तुष्टि यथावत् रहे गठबन्धन सरकारको स्थायित्वमै असर पर्न सक्ने उनको संकेत छ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमाथि सत्तारुढ दलभित्रै उठेका प्रश्न र खर्च कटौतीको मागले बजेट पारित गर्ने प्रक्रियामा समेत चुनौती थपिन सक्ने देखिएको छ।


