धनगढी : सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिलाको पहिरन, सौन्दर्य तथा दैनिक आवश्यकतासँग सम्बन्धित सामग्रीलाई लक्षित गर्दै नयाँ व्यापारिक प्रतिष्ठान ‘प्रिसी’ सञ्चालनमा आएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोक, नगरपालिका रोडमा सञ्चालनमा आएको प्रिसीले महिलाका लागि आधुनिक डिजाइनका विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्य राखेको छ।
‘हरेक दिन तपाईंका लागि’ भन्ने भावनासहित सञ्चालनमा आएको प्रिसीमा महिलाले दैनिक प्रयोग गर्ने सामग्रीदेखि पछिल्लो समय प्रचलनमा रहेका आकर्षक फेसन सामग्रीसम्म पाउन सक्नेछन्।
प्रिसीमा स्टिलका गहना, हार, झुम्का, विभिन्न किसिमका श्रृङ्गार सामग्री, सौन्दर्य सामग्री तथा महिलाका भित्री पहिरनलगायतका सामग्री उपलब्ध छन्। सञ्चालकका अनुसार यहाँ उपलब्ध अधिकांश फेसन सामग्री विदेशबाट ल्याइएका हुन्। गुणस्तर, आकर्षक बनोट र उचित मूल्यलाई प्राथमिकतामा राखेर सामग्री छनोट गरिएको छ।
बदलिँदो फेसन र युवा पुस्ताको रुचिलाई ध्यानमा राख्दै स्वदेशी बजारमा लोकप्रिय सामग्रीसँगै अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका नयाँ शैलीका सामग्रीसमेत क्रमशः थप गर्दै जाने योजना रहेको प्रिसीकी सञ्चालक रुबी श्रेष्ठले बताइन्।
धनगढीका महिलाले फेसन सामग्रीका लागि ठूला सहर वा विद्युतीय माध्यमबाट हुने खरिदमा निर्भर हुनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने उद्देश्यले प्रिसी सञ्चालनमा ल्याइएको श्रेष्ठको भनाइ छ।
‘धनगढीमै नयाँ, आकर्षक र गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार सामग्री छनोट गर्न सक्ने वातावरण बनाउन हामीले विशेष ध्यान दिएका छौँ।’
श्रेष्ठका अनुसार प्रिसीको उद्देश्य सामग्री बिक्रीमा मात्र सीमित छैन। महिलालाई सहज, सरल र आधुनिक खरिदको अनुभव दिलाउनु पनि यसको मुख्य उद्देश्य हो।
‘फेसन अब विशेष अवसरका लागि मात्र सीमित विषय रहेन। कार्यालय जाँदा, साथीभाइसँग भेटघाट गर्दा वा दैनिक जीवनमा समेत आफूलाई सुहाउने सानो झुम्का, आकर्षक हार वा अन्य सामग्रीले व्यक्तित्वमा फरकपन ल्याउन सक्छ,’ श्रेष्ठले भनिन्।
यही सोचका साथ प्रिसीले दैनिक जीवनमा महिलालाई आफूलाई मनपर्ने र सुहाउने सामग्री छनोट गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। विशेष अवसरका लागि मात्र नभई दैनिक जीवनमै आकर्षक र आत्मविश्वासी देखिन चाहने महिलालाई लक्षित गर्दै सामग्रीको विविधता बढाउँदै लैजाने सञ्चालकको योजना छ।
धनगढीमा पछिल्लो समय बढ्दै गएको फेसनप्रतिको आकर्षण, बदलिँदो जीवनशैली र आधुनिक खरिद संस्कृतिबीच प्रिसीले महिलाका लागि नयाँ विकल्प थपेको छ। स्थानीय बजारमै विविध प्रकारका फेसन तथा सौन्दर्य सामग्रीको उपलब्धता बढ्दै जाँदा यसले धनगढीको फेसन बजारलाई थप विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


