धनगढी । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशमा नयाँ बजेट ल्याउने तयारी अघि बढिरहेका बेला नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकारलाई अदालतको अन्तिम निर्णय पर्खन आग्रह गरेको छ।
कांग्रेसले सर्वोच्च अदालतमा बजेटसम्बन्धी विवाद विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म बजेट निर्माण वा कार्यान्वयनसँग सम्बन्धित कुनै प्रक्रिया अघि नबढाउन सरकारसँग माग गरेको हो।
प्रदेशसभा अधिवेशन चलिरहेको अवस्थामा संसद्बाट बजेट पारित गर्ने बाटो छाडेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै बजेटजस्तो महत्वपूर्ण विषयमा संसद्को भूमिकालाई कमजोर बनाउने गरी सरकार अघि बढ्नु उचित नहुने बताएका छन्।
उनले बजेटसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले हतारमा निर्णय लिन नहुने उल्लेख गरेका छन्। अदालतको स्पष्ट आदेशपछि मात्रै बजेटसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने कांग्रेसको धारणा छ।
सरकार गठन भएको करिब ५५ दिन पुगिसक्दा पनि प्रदेशले बजेट पाउन नसकेको भन्दै कांग्रेसले यसबाट नियमित सरकारी कामसमेत प्रभावित भएको जनाएको छ। बजेट अभावमा विकास निर्माण, अत्यावश्यक सेवा तथा कर्मचारीको तलबभत्तासम्म प्रभावित भइरहेको कांग्रेसको दाबी छ।
प्रदेशलाई बजेटविहीन अवस्थाबाट निकास दिन आफूहरूले सरकारसँग पटक–पटक संवाद गरेको कांग्रेसले जनाएको छ। असोज ६ गते बसेको संसदीय दलको बैठकले असोज १५ गतेभित्र बजेट ल्याउन सरकारलाई आग्रह गरे पनि त्यसअनुसार प्रक्रिया अघि नबढेको उसको भनाइ छ।
यसैबीच, अघिल्लो सरकारले ल्याएको बजेटसँग सम्बन्धित विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले बुधबार यस विषयमा आदेश जारी गर्दै शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्नु उचित नहुने कांग्रेसको तर्क छ।
प्रदेशसभा क्रियाशील रहेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउने प्रयासले संसद्को संवैधानिक अधिकारमाथि हस्तक्षेप हुने कांग्रेसले जनाएको छ। लोकतान्त्रिक अभ्यास र संवैधानिक व्यवस्थाको मर्मअनुसार प्रदेशसभाबाटै बजेट पारित गर्नुपर्ने उसको निष्कर्ष छ।
कांग्रेसले तत्काल अध्यादेशको बाटो नरोजी सर्वोच्चको निर्णय पर्खन र त्यसपछि मात्रै बजेटसम्बन्धी प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई पुनः आग्रह गरेको छ।


