धनगढी । मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव बढेपछि देशका विभिन्न क्षेत्रमा मौसम अस्थिर बनेको छ । बुधबार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिनसम्म मौसम पूर्णरूपमा स्थिर हुने अवस्था छैन । काठमाडौं उपत्यकामा बुधबार मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने उहाँले बताउनुभयो ।
“काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने देखिन्छ भने कतैकतै भारी वर्षा पनि हुन सक्छ,” उहाँले भन्नुभयो ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।
पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उहाँको भनाइ छ ।
काठमाडौंमा हावाहुरीसँगै वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा समेत हावाको गति बढेको छ । चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका वर्षा गराउने बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको मौसमविद् लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेका छन् । वर्षा भएपछि हावाको गति भने क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
शुक्रबारसम्म अस्थिर मौसम
बिहीबार आजको तुलनामा केही सुधार देखिए पनि पहाडी तथा तराईका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ । शुक्रबारसम्म पनि बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने मौसमविद्को भनाइ छ ।
तर, वर्षा लामो समय निरन्तर हुनेभन्दा छोटो अवधिमा तीव्र रूपमा हुने र केही समयपछि रोकिने प्रकृतिको रहने अनुमान गरिएको छ । शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।
मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एउटै किसिमको मौसम नरहेको मौसमविद् लामिछानेले बताउनुभयो । त्यसैले एक ठाउँमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिएको छ ।
दसैँअघि यात्रामा सावधानी
दसैँ नजिकिँदै गर्दा केही दिन मौसम अस्थिर रहने भए पनि लामो समयसम्म लगातार वर्षा हुने अवस्था भने नरहेको मौसमविद्को भनाइ छ । तर, छोटो समयमै हावाहुरी, चट्याङ, असिना र तीव्र वर्षा हुनसक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कँदा तत्कालीन मौसम सूचना हेर्न आग्रह गरिएको छ ।


