धनगढी: धनगढीमा जारी दशौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगको पाँचौं दिनमा अनिरुद्र जीडि ग्रुप धनगढी,घोडाघोडी सामुदायिक मावि र ऐश्वर्य विद्या निकेतन विजयी भएका छन ।
सोमबार सम्पन्न पहिलो खेलमा अनिरुद्र जीडि ग्रुप धनगढीले भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरलाई ८ विकेटले पराजित गरेको हो । अनिरुदको यो पहिलो जीत हो भने भक्तपुरको लगातार दोश्रो हार हो ।
भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरले दिएको ३५ रनको झिनो लक्ष्य अनिरुद्र जीडि ग्रुपले ६.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि बसन्त सिंह कार्कीले अविजित ३० रनको पारी खेल्दै टोलीलाई सहज जित दिलाए । भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरका लागि दिपक रेग्मीले मात्रै २ विकेट लिन सफल भए ।
टस जितेर पहिला ब्याटिङ गरेको भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरले कमजो। ब्याटिङ गर्दै १२.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सक्यो । उसका लागि दिपक रेग्मीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन । अनिरुद्र जीडि ग्रुपका लागि महेन्द्र ठगुन्नाले ३ तथा मदन शाह र आयुश खड्काले दुई दुई र कप्तान सिफ्टेन अन्सारी,बसन्त भट्ट र सुरेन्द्र पन्तले समान एक एक विकेट लिए । महेन्द्र ठगुन्ना खेलको म्यान अफ दी म्याच चुनिए ।
आइतबार नै सम्पन्न निकै प्रतिस्पार्धात्मक दोश्रो खेलमा घोडाघोडी सामुदायिक माविले राइजिङ हिरोजलाई ३ विकेटले पराजित गर्दै प्रतियोगीतामा लगातार दोश्रो जीत हाँसिल गरेको छ । घोडाघाडीले पहिलो खेलमा धनगढी योद्धासलाई १० रनले पराजित गरेको थियो । राइजिङ हिरोजले दिएको १५५ रनको विशाल लक्ष्य पछ्याएको घोडाघोडीले १३.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि अर्बिन घर्तिले आक्रामक अर्धशतक प्रहार गर्दै गर्दै टोलीलाइर्ए सहज जीततर्फ उन्मुख गरे । मात्र २० बलको सामना गरेका घर्तीले ३ चौका र ७ छक्का हिर्काउँदै ६० रन बनाए । त्यस्तै स्वरुप चौधरीले २६ रनको पारी खेल्दा किरन धामीले १९ रन बनाए ।
राइजिङ हिरोजका लागि धिरज साउद र निर्मल शाहले समान तीन तीन विकेट लिए भने पारस धामीले एक विकेट दिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राइजिङ हिरोजले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसका लागि तर्कराज भट्टले ४७ रनको महत्वपूर्ण पारी खेले । धिरज साउद ८ बलमा २६ रनको आक्रामक ब्याटिङ गर्दै रनआउट भए भने पारस धामीले २१ रनको पारी खेले ।
घोडाघोडी सामुदायिक माविका लागि सुजन गौतमले २ तथा कप्तान हरिष बस्नेत, अर्विन घर्ति र नविन न्यौपानेले समान एक एक विकेट लिए । खेलमा उत्कृष्ट अलराउड प्रर्दशन गरेका अर्बिन घर्ति म्यान अफ दी म्याच चुनिए ।
आइतबारको तेश्रो खेलमा गजराज हार्डवेयरको टोली निर्धारित समयसम्म मैदानमा उपस्थित नभएपछि धनगढीको ऐश्वर्य विद्या निकेतन वाकओभर पाएर विजयी भएको छ ।
गत असोज १५ गतेबाट सुरु भइ असोज २२ गतेसम्म सञ्चालन हुने यस सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु १००० प्राप्त गर्नेछन । प्रतियोगितामा देशभरका १५ टोली प्रतिस्पर्धा गरिरहेका छन ।


