धनगढी: धनगढीमा जारी दशौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगको चौथो दिनमा एरिष्टो माध्यमिक विद्यालय धनगढी,शुक्लाफाँटा नगरपालिका र खप्तड इण्डोर स्पोटर्स सेण्टर विजयी भएका छन ।
आइतबार सम्पन्न पहिलो खेलमा एरिष्टो माध्यमिक विद्यालय धनगढीले चेतना पाठशालालाई ५८ रनले पराजित गरेको छ । प्रतियोगीतामा एरिष्टोको यो लगातार दोश्रो जीत हो । पहिलो खेलमा एरिष्टोले गजराज हार्डवेयरलाई २५ रनले पराजित थियो ।

एरिष्टो माध्यमिक विद्यालयले दिएको ११३ रनको लक्ष्य पछ्याउन गएको चेतना पाठशाला १२ं.१ ओभरमा ५४ रनमै अलआउट भयो । उसका लागि हिमाल खड्काले १९ रन बनाउनुबाहेक अन्य ब्याटररले दोहोरो अंकको रन समेत जोड्न सकेनन ।
एरिष्टोका लागि डम्मर माझी एक्लैले ३ विकेट लिए भने निरज ऐरले २ तथा यस कठायत,महेन्द्र बिष्ट र कप्तान किरन देउवाले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एरिष्टोले १२.४ ओभरमा सबै विबेट गुमाउँदै ११२ रन जोडेको थियो । उसका लागि निर्देशन कुँवरले सर्वाधिक २४ रनको पारी खेले भने महेन्द्र बिष्ट २१,शंकर बोहोरा १९यस कठायत १८ र निरज ऐरले १६ रनको पारी खेले ।
चेतना पाठशालाका लागि अर्जुन बिष्टले ४,कप्तान अनिल रावत र सागर खड्काले समान दुई दुई तथा धिरेन्द्र सुनार र आदित्य खड्काले समान एक एक विकेट लिन सफल भए । खेलमा उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेका निरज ऐर म्यान अफ दी म्याच चुनिए ।
दोश्रो खेलमा शुक्लाफाँटा नगरपालिकाले धनगढी योद्धासलाई १६ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ । धनगढी योद्धासले भने लगातार दोश्रो हार व्यहोरेको छ ।
शुक्लाफाँटा नगरपालिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको धनगढी योद्धास १३.५ मा ९९ रनमै अलआउट भएको छ । धनगढी योद्धासका लागि निश्चल क्षेत्रीले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन ।
शुक्लाफाँटा नगरपालिकाका लागि कप्तान कैलाश ऐर,शुशिल रावल,सुवेश रावल र गजेन्द्र बोहोराले समान दुई दुई तथा निराजन गौतमले एक विकेट लिन सफल भए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटा नगरपालिकाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । शुक्लाफाँटा नगरपालिकाका लागि गजेन्द्र बोहोराले सर्वाधिक ३२ रन बनाउन सफल भए । त्यसैगरी लोकेश जोशीले २३ निराजन गौतम अविजित १८ र अशोक बिष्टले १७ रनको पारी खेले ।
धनगढी योद्धासका लागि कप्तान दिपक कप्डेल समान तीन तीन तथा दिपक रोकाया र सौर्य श्रेष्ठले समान एक एक विकेट लिए । खेलमा अलराउण्ड प्रर्दशन गरेका गजेन्द्र बोहोरा म्यान अफ दी म्याच चुनिए ।
आइतबार सम्पन्न तेश्रो खेलमा खप्तड इण्डोर स्पोटर्स सेण्टर महेन्द्रनगरले भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरलाई १० रनले पराजित गरेको छ । भक्तपुरको यो पहिलो खेल हो भने खप्तड इण्डोर स्पोटर्स सेण्टर पहिलो खेलमा बिरेन्द्र स्पोटर्स एकेडेमीसँग ७ विकेटले पराजित भएको थियो ।
खप्तड इण्डोर स्पोटर्स सेण्टरले दिएको १०४ रनको झिनो लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर मात्र ९३ रन बनाउन सक्यो । उसका लागि आर्यन बोहोराले १७ तथा रबिन कुमार यादवले अविजित १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन । खप्तड इण्डोरका लागि पंकज सार्कीले ३ विकेट चट्काए भने भक्ती प्रसाद जोशीले दुई तथा महेश बिष्ट र केशव चन्दले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको खप्तड इण्डोर स्पोटर्स सेण्टर महेन्द्रनगरले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो । उसका लागि कप्तान चेतन ठगुन्नाले २५ रन बनाए भने योगेश खत्रीले १६,दिनेश भाटले १५,बिक्रम सिंह भाटले १४ र नरज चन्दले १३ रनको योगदान दिए ।
भक्तपुर क्रिकेट एक्सिलेन्स सेण्टरका लागि रबिन कुमार यादवले ४ विकेट चट्काए भने आर्यश पोखरेलले २ तथा कप्तान मनोहर कुमार यादवले एक विकेट लिन सफल भए । उत्कृष्ट बलिङ प्रर्दशन गरेका खप्तड इण्डोर स्पोटर्स सेण्टरका पंकज सार्की मयान अफ दी म्याच चुनिए ।
गत असोज १५ गतेबाट सुरु भइ असोज २१ गतेसम्म सञ्चालन हुने यस सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु १००० प्राप्त गर्नेछन । प्रतियोगितामा देशभरका १५ टोली प्रतिस्पर्धा गरिरहेका छन ।


