धनगढी । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि गत जेठदेखि मार्तडी–कोल्टी सडक अवरुद्ध थियो। वर्षायाममा लगातार पानी परिरहेकाले सडक मर्मतमा समस्या हुँदै आएकोमा मौसममा सुधार आएपछि स्थानीय तह र ठेकेदारमार्फत अवरुद्ध सडकखण्ड मर्मत गरिएको भौतिक पूर्वाधार विकास कार्यालय, अछामले जनाएको छ।
सडक बन्द हुँदा कोल्टी क्षेत्रमा रहेका स्थानीयले लामो समयदेखि आवतजावतसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या झेल्दै आएका थिए। सवारीसाधन चल्न नसकेपछि चालक तथा व्यवसायीसमेत आर्थिक मारमा परेका थिए।
बुढीनन्दा नगरपालिकाका जिप चालक रामबहादुर कार्कीका अनुसार सडक अवरुद्ध भएपछि जेठदेखि गाडी कोल्टीमै थन्किएको थियो। “जेठदेखि असोजसम्म गाडी मार्तडीसम्म चल्न नसक्दा किस्ता तिर्नसमेत समस्या भयो,” उहाँले भन्नुभयो, “अब गाडी मार्तडीसम्म जान थालेपछि केही सहज हुने आशा छ।”
मार्तडीदेखि कोल्टीसम्मको सडक करिब ४२ किलोमिटर लामो छ। वर्षायाममा पहिरोका कारण हरेक वर्षजसो सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। अहिले हिउँद सुरु भएसँगै जिप सञ्चालनमा आए पनि ठूला बस भने अझै मार्तडीसम्म पुग्न सकेका छैनन्।
बस सञ्चालनका लागि आवश्यक सडक मर्मत पूरा नभएकाले दशैँपछि मात्रै बस चल्न सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। जिपको तुलनामा बसको भाडा कम भएकाले बस सञ्चालनका लागि स्थानीयले माग गरेका छन्।
हाल जिपले मार्तडीसम्मको यात्रामा प्रतियात्रु करिब एक हजार रुपैयाँ भाडा लिने गरेका छन् भने बस सञ्चालन हुँदा यही दूरीमा करिब पाँच सय रुपैयाँ मात्रै भाडा पर्ने स्थानीय बताउँछन्। त्यसैले जिपसँगै बस पनि सञ्चालनमा आए आवतजावतमा थप सहज हुने उनीहरूको अपेक्षा छ।
सडक पुनः सञ्चालनमा आएपछि बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ बजारसम्म पुर्याउन तथा दशैँ–तिहारका लागि आवश्यक दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत सहज हुने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।


