धनगढी । नेपाली कांग्रेसका नेता तथा डोटीबाट प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले पार्टीको सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १५औँ महाधिवेशनलाई लक्षित गर्दै खड्काले सह–महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्। खड्काले आफ्नो उम्मेदवारीमार्फत पार्टीभित्र सहकार्य, सद्भाव र विचारलाई प्राथमिकता दिने बताएका छन्। उनको प्रचार सामग्रीमा ‘यहाँको सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गर्दछु’ भन्ने सन्देश उल्लेख गरिएको छ।
डोटी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खड्का नेपाली कांग्रेसका नेता हुन्। उनी यसअघि डोटीमा पार्टीको जिल्ला नेतृत्वमा समेत रहेर काम गरिसकेका छन्। हाल प्रतिनिधिसभामा कांग्रेसबाट डोटी–१ को प्रतिनिधित्व गरिरहेका खड्का सार्वजनिक लेखा समितिको सभापतिसमेत निर्विरोध निर्वाचित भएका थिए।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला खड्काको सह–महामन्त्री पदमा उम्मेदवारीले सुदूरपश्चिमको प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।


