धनगढी । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल पुनर्निर्माणमा करिब एक वर्ष लाग्ने देखिएको छ । पुलको क्षतिको विस्तृत अवस्था बुझ्न स्थलगत अध्ययनमा पुगेको प्राविधिक टोलीले पुनर्निर्माणमा समय लाग्ने जनाएको हो ।
संघ र प्रदेश सरकारको समन्वयमा खटिएको सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारी नेतृत्वको टोलीले शुक्रबार पुलको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फ रहेका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए ।
उनका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना कटान भएर बग्दा पुलमा क्षति पुगेको प्रारम्भिक निष्कर्ष छ ।
‘अहिले नदीमा पानीको बहाव धेरै छ । ढलेको पिल्लरसँगै थप दुईवटा पिल्लर पनि नयाँ बनाउनुपर्ने अवस्था आउन सक्छ,’ अधिकारीले भने, ‘बाँकी संरचना पनि कमजोर देखिए खोल्दै पुनः फिट गरेर निर्माण गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ ।’
पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए । सरकारले छिट्टै बजेट व्यवस्थापन गरी निर्माण प्रक्रिया अघि बढाए पनि पुल पूर्णरूपमा सञ्चालनमा ल्याउन करिब एक वर्ष लाग्न सक्ने उनको भनाइ छ ।
प्राविधिक टोलीले अब क्षतिग्रस्त संरचनाको विस्तृत अध्ययन गर्नेछ । त्यसपछि आवश्यक लागत, निर्माणको विधि तथा प्रक्रियाबारे टुंगो लगाइने बताइएको छ ।
महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्याएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन अवरुद्ध छ । यसअघि पनि प्राविधिक टोलीले पुलको क्षतिको प्रारम्भिक अध्ययन गरेको थियो ।


