धनगढी । असोज ९ गतेदेखि देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएपछि सरकारले आवश्यक तयारी थालेको छ ।
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगेर मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूले विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत मौसमविद्सँग सम्भावित जोखिम र पूर्वतयारीबारे छलफल गरेका हुन् ।
छलफलका क्रममा मौसमविद्ले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने जानकारी दिएका छन् ।
विभागका अनुसार वर्षा गराउने प्रणाली देशभर फैलिने सम्भावना छ । विशेषगरी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा बाढी, डुबान, कटान, पहिरो तथा हिमाली क्षेत्रमा यात्रा जोखिम बढ्न सक्ने बताइएको छ ।
हालसम्मको मौसमी अवस्थाअनुसार लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने विभागकी प्रवक्ता पोखरेलले बताइन् । जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न उनले आग्रह गरेकी छन् ।
विभागले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ । केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागरमा विकसित न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्य भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको र पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।
यसको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आवश्यक तयारी अवस्थामा रहन र नागरिकलाई समयमै सूचना प्रवाह गर्न भनिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।
मौसम विभागले दैनिक वर्षाको मात्राका आधारमा २५ मिलिमिटरभन्दा कमलाई हल्का, २५ देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षाका रूपमा वर्गीकरण गर्दै आएको छ ।

