धनगढी । टीकापुर नगरपालिका –५ का कमल चौधरीको हातमा दुई लाख १४ हजार हजार ४८७ रुपियाँको चेक छ । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले चेक हातमा थमाएपछि कमलले वडाध्यक्षको मुखमा हेरिरहेका थिए ।
वडाध्यक्षले यो पाँच जनाको पैसाको चेक हो, भोलि साटेर बाँडनु होला भनेर आग्रह गर्नुभयो । चेक हातमा च्यापेर कमलले मलिन स्वरमा वडाध्यक्षलाई भन्नुभयो, ‘चेक त साटौंला, बुबाको सास त अब रहेन होला । लास कहिले पाइन्छ ?
वडाध्यक्षले केहीबेर सोचेर भन्नुभयो, ‘अहिले कामदारको पारिश्रमिक मात्र उपलब्ध भएको हो, बाढीमा हराएकाहरुको खोजी कार्य अझैँ जारी छ । यो विपत्तीको समयमा आफू सम्हालिनुस् र परिवारलाई पनि सम्हाल्नु होला ।’
उहाँले ढाड्स दिँदै भन्नुभयो, ‘सरकार आफ्नो नागरिकको साथमा रहेकाले राहत तथा क्षतिपूर्तिको प्रक्रिया थाल्नेछ ।’ टीकापुर नगरपालिका –५ का कमलका बुबा ठगराम चौधरी भोटेकोशी बाढीमा परेर वेपत्ता भएको खबर सुनेपछि नेपाल फर्किनु भएको छ । कमल रोजगारीका लागि २० महिनाअघि दक्षिणकोरिया जानुभएको थियो ।
‘हरेक दिन शव फेला परेको सुन्दा मेरो बुबा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्छ’ कमल भन्नुहुन्छ, ‘पाँच जनाको दुई लाख १४ हजार हजार ४८७ रुपियाँ पारिश्रमिक लेखिएको संयुक्त चेक पाएको छु, तर मेरो ध्यान मेरै बुबाको खबर कतिबेला आउँछ भन्नेमा छ यसको जवाफ पाइरहेको छैन ।’
टीकापुरबाट रसुवास्थित जलविद्युत आयोजनामा श्रम गर्न गएर बाढीमा वेपत्ता भएको श्रमिकहरुको पारिश्रमिक आइतबार वडाध्यक्षको रोहबरमा वितरण गरिएको छ । आयोजनाका लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक दिएपछि टीकापुर परेर श्रमिकका परिवारलाई वितरण गरिएको बताउनुभयो ।
पोखरा छिङहवा कन्सट्रक्सनले यहाँका ४७ जना कामदारहरुले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपियाँ आफ्नो खातामा हालिदिएपछि तिनका परिवारलाई बुझाउन आएको कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले बताए ।
यसरी ज्याला पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना वेपत्ता श्रमिकका परिवार छन् । वेपत्ता भएकोमा २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार छन् ।
अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलव प्राप्त भएको र सरकारी प्रक्रिया पूरा भएपछि कामदारको दुर्घटना बिमा वापतको रकम मिल्ने तुलारामले बताउनुभयो । भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परेर यहाँका ३३ जना युवाहरु बेपत्ता छन् ।
घटना भएको एक महिना पुग्न लाग्दा पनि आफ्न्तबारे जानकारी नपाएका कामदारका परिवारहरुले अब आफन्तहरुको सास भेटाउने आशा क्रमशः मारिरहेका छन् । सास नपाए लास मात्र भए पनि पाउने प्रतिक्षामा छन् । आफन्त पहिचानका लागि बेपत्ताका परिवारहरुले डिएनए परीक्षणका लागि नमुना दिइसकेका छन् ।

