कैलाली: सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशन, बडिमालिका र खप्तडको योजनाबद्ध विकासले प्रदेशको आर्थिक समृद्धिको आधार तयार गर्न सकिने बताउनुभएको छ।
बिहीबार टीकापुरमा रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाको उद्घाटन गर्दै उहाँले यहाँका तीनवटै क्षेत्रको विकासलाई जनताको आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउनुभयो।
उहाँले धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनमार्फत स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका शाहले राष्ट्रिय एकता, अखण्डता, सामाजिक सद्भाव र सामाजिक एकता कायम राख्दै ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परा र संस्कारको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
सुदूरपश्चिमको पहिचान र सम्भावनासँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा राज्य, स्थानीय समुदाय र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेशकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री झपटबहादुर साउँदलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

