धनगढी । पर्यावरण संरक्षण तथा वन पैदावर व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रकाश खड्का सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
बुधबार धनगढीमा सम्पन्न संघको ११ औं साधारण सभा तथा अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा तर्कराज जैशी र ललित जोशी, महासचिवमा लालबहादुर शाही, कोषाध्यक्षमा दिपेन्द्र गिरि, सचिवमा कल्पना खड्का तथा सह–कोषाध्यक्षमा सुरजबहादुर बोहरा चयन हुनुभएको छ।
यसैगरी कार्यसमिति सदस्यहरूमा एकेन्द्र शाही, भुपेन्द्र ठगुन्ना, सुरेन्द्र महरा, दिवाकर पाण्डे, लालबहादुर साउद र अमर छन्त्याल रहनुभएको छ।
अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष प्रकाश खड्काले वातावरण संरक्षणसँगै वन पैदावर व्यवसायीका समस्या समाधानमा आफू सक्रिय भएर लाग्ने बताउनुभयो। “वन र पर्यावरण संरक्षण गर्दै व्यवसायीहरूले भोग्दै आएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्न संघले सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्नेछ,” उहाँले भन्नुभयो।
यसअघि आयोजित साधारणसभाको उद्घाटन समारोहलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा पर्यावरण संरक्षण तथा वन पैदावर व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष हिक्मत कुँवर, संघका केन्द्रीय सल्लाहकार प्रकाश भट्टलगायतका वक्ताहरूले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र व्यवसायमैत्री नीतिको आवश्यकतामाथि जोड दिनुभएको थियो।
कार्यक्रम संघका तत्कालीन महासचिव महेश्वर ओझाले सञ्चालन गर्नुभएको थियो साथै ओझालाई नया कार्यसमितिको सल्लाहकारमा मनोनीत गरिएको छ ।

