बैतडी: बैतडीको पुरचौडी नगरपालिका–८, स्थीत लामुनी गाउँमा सोमवार राती पहिरो जाँदा एक घरमा क्षती पुगेको छ । बस्ती माथिबाट आएको पहिरोले थप सात घरपरिवार बिस्थापित भएका छन् । बस्ती माथिबाट ठूलो चट्टान खस्दा स्थानीय गणेश जोशीको घर पहिरोबाट पुर्ण रुपमा क्षती भएको र पशुचौपाया घरभित्र च्यापिएका छन् ।
पहिरोको आवाज सुन्दा घर भित्र रहेका दुई जना भागेर ज्यान जोगाउन सफल भएको स्थानीय पदम जोशीले बताए । उनका अनुसार परिवारका अधिकांश सदस्यहरु तीज मनाउन गएका बेला राती नौ बजेको सयममा पहिरो खसेको थियो । लामुनी गाउँको पश्चिमतर्फ दसकौअघि ठूलो पहिरो गइरहेको थियो । सोमबार राती चट्टानको ठूलो भाग घरमाथि खसेर एउटा घरमा क्षती पुर्याएपछि पहिरोको त्रासले उक्त टोलका सात परिवारले घर छोडेर रातभरी त्रिपालमुनी बसेको स्थानीय हरिश जोशीले बताए । उनले भने, ‘नौ बजे पहिरो खस्यो, त्यसपछि सबै जना गाउँ छोडेर भाग्यौँ, त्रिपालमुनी बसेर रात बितायौँ।’
मंगलवार बिहान डेढ घण्टाको दुरीमा रहेको पुरचौंडी हाटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरीले घरमा पुरिएका चौपायाँहरु निकाल्ने काम गरिरहेको छ । पहिरोका कारण स्थानीय रघुनाथ जोशी, दत्तराम जोशी, बल्देब जोशी, पर्मानन्द जोशी, हिरा जोशी, चन्द्रदेव जोशी, गोबिन्द जोशी र कासी भण्डारीको घर उच्च जोखिममा परेका छन् ।
गाउँ माथि घरभन्दा ठूलो ढुङ्गा खसेर क्षती पुगेको र अझै ठूलो चट्टान जुनसुकै बेला पनि खस्न सक्ने अवस्थामा रहेको घटनास्थल पुगेको प्रहरीले बताएको छ । पुरघाँट प्रहरी चौकीबाट घटनास्थल पुगेका प्रहरी नायब निरिक्षक रुप सिंह साउदले बिहानै देखि आफूहरु उद्धारमा खटिएको बताए ।

