धनगढी । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ । जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको निगरानीमा उपयोगी मानिने यस्तो परीक्षण अब धनगढीमै उपलब्ध हुने भएको हो ।
अस्पतालका अनुसार सामान्य रगत परीक्षणबाट पहिचान गर्न कठिन हुने प्रतिरक्षा प्रणालीसम्बन्धी समस्या, रक्तसम्बन्धी क्यान्सर, मिर्गौला तथा स्वप्रतिरक्षी रोगको मूल्यांकनमा विशेष प्रोटिन परीक्षण उपयोगी हुन्छ । यसअघि यस्ता परीक्षणका लागि प्रदेश बाहिरका प्रयोगशाला वा अन्यत्र नमुना पठाउनुपर्ने अवस्था थियो ।
अस्पतालका कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा राजेन्द्र महरले विशेष प्रोटिन परीक्षणले रोगको प्रकृति पहिचान गर्न र उपचारको प्रभावकारिता मूल्यांकन गर्न चिकित्सकलाई सहयोग गर्ने बताए । उनका अनुसार सेवा सुदूरपश्चिममै उपलब्ध भएपछि जटिल रोगको परीक्षण तथा उपचार प्रक्रिया थप सहज हुनेछ ।
निसर्ग हस्पिटलमा इम्युनोग्लोबुलिन आईजीजी, आईजीए र आईजीएम, आईजीजीका उपसमूह, फ्रि कप्पा तथा ल्याम्ब्डा लाइट चेन, सी–३, सी–४ र सीएच–५०, बिटा–२ माइक्रोग्लोबुलिन तथा सी–१ इस्टरेज इन्हिबिटरलगायत परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ।
यस सेवाअन्तर्गत लिपोप्रोटिन ९ए० अर्थात् एलपी ९ए० परीक्षणसमेत गर्न सकिनेछ। मुटुरोग विशेषज्ञ डा। सुदीप लम्सालका अनुसार रगतमा एलपी ९ए० को मात्रा बढी भएमा हृदयाघात तथा मस्तिष्कघातलगायत मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढ्न सक्छ। विशेषगरी परिवारमा कम उमेरमै हृदयाघात वा मस्तिष्कघातको इतिहास भएका व्यक्तिका लागि यो परीक्षण उपयोगी हुने उनले बताए।
अस्पतालले विशेष प्रोटिन परीक्षण सेवा धनगढीमै सुरु भएपछि जटिल परीक्षणका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता घट्ने जनाएको छ। यसबाट बिरामीको समय र खर्च बच्नुका साथै उपचार प्रक्रिया अघि बढाउनसमेत सहज हुने अपेक्षा गरिएको छ।
अस्पतालका अध्यक्ष तीर्थराज पन्तले आवश्यक जटिल स्वास्थ्य परीक्षण आफ्नै प्रदेशमा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएको बताए।

