खलङ्गा: चीनको तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट ९पुराङ काउन्टीमा० नेपाल–चीन सीमा सुरक्षा बैठकको आयोजना गरिएको छ । दार्चुलाको सीमावर्ती क्षेत्र तिङ्कर नाकानजिकै पर्ने ताक्लाकोटमा आयोजना गरिएको सीमा सुरक्षा बैठकमा नेपालका दार्चुला, बझाङ र हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।
चीनको पुराङ काउन्टीस्थित स्थानीय प्रशासनले सीमा बैठक आयोजना गरिएको आधिकारिक जानकारी पठाएपछि यहाँका सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी हुन त्यसतर्फ जानुभएको छ । सेप्टेम्बर १४ देखि १७ सम्म प्रस्ताव गरिएको सीमा सुरक्षा बैठक सहभागी हुन दार्चुलाबाट प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गणका गणपति गुणराज न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक गौरव महत र व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोरा शनिबार त्यसतर्फ जानुभएको छ ।
बैठकमा सहभागी हुने सुरक्षा निकायको टोली, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी स्थलमार्गमार्फत व्यासको छाङरु, तिङ्कर, छ्यालेक हुँदै ताक्लाकोट जाने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सीमा सुरक्षा बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा सीमावासी दार्चुला जिल्लाका नागरिकको कैलास मानसरोवर यात्रा सहजीकरणका एजेन्डामा छलफल गर्ने दार्चुलाका प्रजिअ पौडेलले बताउनुभयो । कैलास मानसरोवर जाने सबैभन्दा छोटो बाटो तिङ्कर नाका हो ।
बैठकमा दुई देशबिच नियमित रूपमा सीमा सुरक्षा बैठकको आयोजना गरिनुपर्ने, आपसी समन्वय र सहकार्यमा जोड दिनुपर्नेलगायतका विषयमा कुरा राख्ने तयारी गरेको उहाँले बताउनुभयो । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले तिङ्कर नाकालाई आधिकारिक नाकाका रूपमा सञ्चालन गरिनुपर्ने, सौका समुदायका मानिसका लागि ताक्लाकोट आवतजावतमा विगत झैँ सहज हुनुपर्ने विषयमा कुरा राख्ने बताउनुभयो । व्यापारीले ताक्लाकोट बजारबाट ल्याउने दैनिक उपभोग्यका वस्तुको आयातमा सहजता कायम गर्न‘पर्नेलगायतका विषयमा आफ्ना कुरा राख्ने उहाँले बताउनुभयो ।

