धनगढी । ‘असोजमा घर आउँछु, बाबुको पहिलो जन्मदिन पनि सँगै मनाउँला ।’ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाकी २६ वर्षीय तारा बोहराले श्रीमान् सुरज महताबाट केही समयअघि यही कुरा सुनेकी थिइन् । असोज ९ गते उनीहरूको पहिलो सन्तान छोरा एक वर्ष पुग्दै छन् । सुरजले बुवाको श्राद्ध पनि गर्नुपर्ने थियो । त्यसैले असोजमा घर फर्किएपछि केही समय परिवारसँगै बस्ने योजना बनाएका थिए उनले । असोज आउनुअघि नै सुरजको परिवारमाथि बज्रपात भयो ।
२८ वर्षीय सुरज महता भदौ १० गते रसुवामा आएको बाढीपछि बेपत्ता छन् । घटना भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि उनको अवस्था पत्ता लागेको छैन । श्रीमान्को खबर आउने प्रतीक्षामा तारा घरमै छिन् । काखमा एक वर्ष पुग्न लागेको छोरो छ । गोठमा गाईभैँसी छन् । घाँस काट्नुपर्छ । घरको काम गर्नुपर्छ, तर मन भने कतै अडिएको छैन । ‘खाना खान मन लाग्दैन । पानी पनि रुच्दैन । उहाँको केही खबर नआएपछि संसार नै सकिएजस्तो लाग्छ । काखमा बच्चा छ, म के गरूँ ?’ ताराले भनिन् ।
भदौ १० गते बिहान ताराले श्रीमान्लाई फोन गरेकी थिइन् । ‘नौ बजेर १९ मिनेटमा फोन गरेको थिएँ । फोन उठ्यो । उहाँले हेलो भन्नुभयो, मैले पनि हेलो भनेँ । ब्यालेन्स नभएर फोन काटियो,’ उनले भनिन् । फोन काटिएपछि उनले उताबाट श्रीमान्ले फोन गर्लान् भन्ने सोचिन् । त्यस दिन नेटवर्क पनि राम्रो थिएन । केहीबेर फोन कुरिन्, तर सुरजले फोन गरेनन् । तारा घरायसी काममा लागिन् । मोबाइल चार्जमा राखिन् । खाना पकाउने लगायतका काम गरिरहिन् । त्यसैबिच काठमाडौँमा बस्ने उनकी बहिनीको फोन आयो ।
‘भिनाजुले काम गर्ने ठाउँमा बाढी आएको रहेछ । मैले फोन गर्दा पनि फोन लागेन,’ बहिनीले भनेपछि ताराको मन झस्कियो । उनले हतारहतार सुरजको मोबाइलमा फोन गरिन्, तर फोन लागेन । त्यसपछि उनले पटक-पटक सुरजको मोबाइलमा फोन गर्दै आएकी छन् तर अहिलेसम्म फोन उठेको छैन । सुरज रसुवामा त्रिशूली थ्री बी आयोजनामा सर्भे इन्जिनियरका रूपमा काम गरिरहेका थिए । उनी कम्पनीकै क्याम्पमा बस्ने र मेसमा खाना खाने गर्थे । कामको प्रकृति नै कल ड्युटी थियो । अफिसबाट फोन आएपछि जहाँ भनिन्थ्यो, त्यहीँ पुग्नुपर्थ्यो । बाढी आएको दिन सुरज कहाँ थिए र के गर्दै थिए भन्ने कुरा परिवारले अहिलेसम्म स्पष्ट रूपमा थाहा पाउन सकेको छैन ।
सुरज बस्ने क्याम्प टनेलबाट करिब १५ देखि २० मिनेटको दुरीमा रहेको ताराले सुरजबाट सुनेकी थिइन् । घटनाको समयमा उनी वास्तवमै कहाँ थिए भन्ने यकिन हुन सकेको छैन । ‘त्यो दिन खासमा के भएको हो, कसैलाई थाहा छैन । हामी के भनौँ रु’ ताराले भनिन् । सुरजसँगै एउटै क्याम्पमा बस्ने र काम गर्ने केही साथीको शव फेला परिसकेको छ । परिवारका सदस्यहरू सुरजको खोजीमा काठमाडौँ र चितवनसम्म पुगे । उनीहरुले फेला परेका शव हेरे, तर सुरज भेटिएनन् ।
‘दुई–तीन वटा शव हेर्नुभयो, तर चिनिने अवस्था पनि थिएन । हामीले उहाँलाई भेटेनौँ,’ ताराले भनिन् । सुरजका फुपूका छोरा, भारतबाट घर फर्किएका उनका भाइ र ज्वाइँसमेत खोजीका लागि गएका थिए । उनीहरूले अस्पताल तथा शव राखिएको ठाउँमा पुगेर खोजे, तर अहिलेसम्म कुनै पत्तो लागेन । सुरज र ताराको विवाह भएको पाँच वर्ष पूरा भएको छ । घरमा आमा, हजुरआमा, भाइ, श्रीमती र छोरा छन् ।
सुरजका बुवाको निधन भइसकेको छ । घरको मुख्य जिम्मेवारी उनकै काँधमा थियो । गाउँमा खेतीपातीले वर्षभरि परिवार पाल्न पुग्दैन । त्यसैले पढाइ सकेपछि सुरज कामकै खोजीमा विभिन्न ठाउँ पुगे । धनगढी, मसुरिया, नेपालगन्ज हुँदै उनले संखुवासभासम्म काम गरे । करिब डेढ वर्षदेखि रसुवामा सर्भे इन्जिनियरका रूपमा कार्यरत थिए । केही समय काम छोडेर उनले काठमाडौँमा कोरियन भाषा पनि पढे । विदेश जाने सोच पनि बनाएका थिए । ‘यो काम गरेर खासै भविष्य छैन । अब विदेश जान्छु भन्नुहुन्थ्यो । असोजमा घर आएपछि रसुवा फेरि नजाने कुरा गर्नुभएको थियो,’ ताराले भनिन् ।
गत असारमा सुरज घर आएका थिए । खेतीपातीको काम सकेर फेरि रसुवा फर्किए । ‘बाबुको जिम्मेवारी, आमा–हजुरआमा, भाइ र मेरो सबै जिम्मेवारी उहाँमाथि थियो । घरको कमाउने मान्छे नै अहिले कहाँ छन् भन्ने थाहा छैन । उहाँबिना घर कसरी चलाउने ?’ ताराले भनिन् । सुरज बेपत्ता भएपछि घरमा सन्नाटा छ । आमा र हजुरआमा पनि छोराको खबरको प्रतीक्षामा छन् । भाइ पनि पीडामा छन् । आफन्तहरू घरमा आएर सम्झाउने–बुझाउने गर्छन् । ‘हामी कति दिन यसरी तड्पिएर बस्ने रु उहाँको अब सास बाँकी छ भन्ने आशा मलाई छैन । लास भए पनि पत्ता लगाइदिनुहोस् सरकार,’ उनले भनिन् ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी र शव पहिचानका लागि डीएनए परीक्षणबाट समेत पहिचान गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ । ‘डीएनएबाट शवको पुष्टि हुन्छ भन्छन् । त्यो काम गरेको भए हुन्थ्यो । उहाँको शव भए पनि फेला परेको हुन्थ्यो, ताराले भनिन् । घटनापछि पालिकाका जनप्रतिनिधि ताराको घरमा पुगेका थिए । उनीहरुले सहयोग गर्ने आश्वासन दिए पनि अहिलेसम्म परिवारले प्रदेश सरकार वा स्थानीय सरकारबाट ठोस सहयोग पाएको छैन ।
सुरजको खोजीका लागि परिवारका सदस्यहरू आफैँ दौडधुप गरिरहेका छन् । ताराको काखमा सानो बच्चा छ । बच्चालाई छोडेर खोजीमा जान सक्दिनन् । बच्चालाई लिएर जान पनि सक्दिनन् ।रातोपाटीबाट

