धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ को छुद्दी बस्तीमा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । भाइरल ज्वरोका कारण यहाँका करिब ४० देखि ५० घरधुरीका स्थायीवासी निकै प्रभावित बन्दै गएका छन् । केही दिन पहिला अविरल बर्सातका कारण गाउँमा आएको बाढीपहिरोले यहाँको खानेपानीको पाइप बगाएपछि यहाँका स्थानीयलाई खानेपानीको अभाव हुँदा खोला किनारको धमिलो पानी खान बाध्य भएका थिए ।
गाउँमा अहिले बिरामी बढ्दै गएका छन् । बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, खोकी रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेका छन् । गाउँमा बिरामी बढ्दै गएको जानकारीपछि गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधीसहितको स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर बिरामीलाई उपचार गरेपछि अहिले भाइरल ज्वरोका बिरामी कम हुँदै गएको स्वामीकार्तिक खापर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

