धनगढी । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन् । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखा, रसुवामा फिल्ड अफिसरका रूपमा कार्यरत थिइन् ।
परिवारका अनुसार बाढी आएको दिन बिहानदेखि शाहीसँग सम्पर्क हुन सकेको छैन । उनको मोबाइलको अन्तिम लोकेसन नुवाकोटको विदुर नगरपालिका, जितेटार क्षेत्रमा देखिएको थियो । परिवारका अनुसार बाढी आउने दिन बिहान ११ बजेर २९ मिनेटमा उक्त स्थानमा मोबाइलको लोकेसन देखिएपछि मोबाइल बन्द भएको थियो ।
शाहीका भिनाजु दिपक बहादुर सिंहका अनुसार त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । सिंहले उनी जीवित छिन्, घाइते छिन् वा बाढीमा परेकी छन् भन्नेबारे समेत अहिलेसम्म यकिन हुन नसकेको बताए । ‘अहिलेसम्म कुनै खबर आएको छैन,’ सिंहले भने ।
उनका अनुसार शाही कार्यरत लघुवित्तको शाखा कार्यालय र उनी बस्दै आएको घरसमेत बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी आएको छ । शाही कार्यालयबाट करिब १०० मिटर माथि रहेको एउटा घरमा भाडाको कोठा लिएर बस्दै आएकी थिइन् ।
बाढी आउनुअघि शाही कार्यालयमै रहेको जानकारी परिवारले पाएको छ । उक्त शाखामा तीन जना कर्मचारी शाखा प्रमुख शारदा पाण्डे, फिल्ड अफिसर पुष्पा शाही र कार्यालय सहयोगी सुष्मा अधिकारी थिए ।
परिवारका अनुसार बाढी आउन लागेको जानकारी पाएपछि कार्यालय सहयोगी सुष्मा अधिकारी आफ्नो बच्चासहित सुरक्षित स्थानमा पुगेको तर पुष्पा भने खाना खाएर निस्किउँला भनेर बसेकी थिइन् । शाखा प्रमुख शारदा पाण्डे र पुष्पा शाहीको अवस्था भने पत्ता लाग्न नसकेको बताइएको छ ।
परिवारका अनुसार पुष्पा शाही करिब एक वर्षदेखि एनएमबी लघुवित्तमा कार्यरत थिइन् । उनी जागिरसँगै ब्याचलर तहको अध्ययनसमेत गरिरहेकी थिइन् । बाढी आउनुभन्दा अघिल्लो साँझ उनले आमा, बुवा, दिदी, दाइ र भाइहरूसँग फोनमा कुराकानी गरेकी थिइन् । त्यसपछि भने परिवारसँग उनको सम्पर्क हुन सकेको छैन ।
पुष्पाका भिनाजु सिंहका अनुसार परिवारका लागि उनको आम्दानी नै महत्त्वपूर्ण आर्थिक स्रोत थियो । परिवारका अनुसार पुष्पा मिलनसार स्वभावकी थिइन् । जागिर गरेर आफ्नै खुट्टामा उभिने र आर्थिक रूपमा स्वावलम्बी भएपछि मात्रै विवाहबारे सोच्ने उनको योजना थियो ।
उनको खोजी तथा उद्धारका लागि परिवारले सुरक्षाकर्मी र सम्बन्धित निकायसँग आग्रह गरेको छ । पुष्पाको खोजीका लागि लघुवित्त संस्थासँग पनि परिवारले समन्वय गरिरहेको छ । संस्थाको पोखरास्थित केन्द्रीय कार्यालयका अधिकारीसँग सम्पर्क गरी खोजी कार्यमा कर्मचारी परिचालन गरिएको जानकारी परिवारले पाएको छ ।
यसैबिच, पुष्पाका दाइ रोशन शाहीलाई परिवारले धनगढीबाट काठमाडौँ पठाएको छ । सडकमार्गबाट घटनास्थलतर्फ जान कठिन भएपछि उनलाई विमानमार्फत काठमाडौँ पठाइएको हो । काठमाडौँ पुगेपछि नुवाकोटतर्फ गएर खोजी कार्यमा सहभागी हुने तयारी गरिएको परिवारले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट विभिन्न स्थानमा शव ल्याइरहेको खबर आएपछि परिवारमा थप चिन्ता बढेको छ । पहिचान हुन बाँकी शवहरूमा समेत पुष्पाको खोजी गर्न परिवारले सम्बन्धित निकाय र संस्थासँग आग्रह गरेको छ ।

