धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीबाट कार्यालयको समग्र अवस्था, संगठन संरचना, कार्यसम्पादन र जिम्मेवारीबारे ब्रिफिङ लिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप सक्षम र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो।
मुख्यमन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्मार्ट, चुस्त, प्रविधिमैत्री र प्रभावकारी समन्वय गर्न सक्ने प्रमुख प्रशासनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। प्रदेशका सबै मन्त्रालय तथा निकायबीच प्रभावकारी समन्वय, सहजीकरण र अनुगमन गर्दै सरकारका निर्णयलाई परिणाममा रूपान्तरण गर्ने गरी कार्यालयको कार्यशैली विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
“हाम्रो प्रदेश हामीले नै बनाउनुपर्छ,” भन्दै मुख्यमन्त्री भट्टले समय व्यवस्थापनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका विषयमा कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो। नागरिकले सरकारबाट सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्नु प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा विकास र समृद्धिका लागि ठूलो सम्भावना रहेको उल्लेख गर्दै उपलब्ध सम्भावनालाई आर्थिक तथा सामाजिक रूपान्तरणमा परिणत गर्न योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताउनुभयो। गरिबी न्यूनीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो। प्रदेश गौरवका आयोजना तथा रणनीतिक महत्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै तिनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनसमेत उहाँले निर्देशन दिनुभयो।
मुख्यमन्त्री भट्टले काम गर्ने क्रममा कुनै पनि प्रकारको लोभ–लालचमा नफस्न, निष्पक्ष र पारदर्शी ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। “फेयर भएर काम गर्नुस्, सुधार आवश्यक भएका ठाउँमा सुधारका काम तत्काल थाल्नुस्,” उहाँले भन्नुभयो। प्रदेश सरकारका नीति, निर्णय र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्रबीच बलियो समन्वय आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई त्यसको प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
सो क्रममा प्रमुख सचिवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन संरचना, कार्यक्षेत्र, जिम्मेवारी, हालसम्मको कार्यसम्पादन तथा कार्यालयबाट भइरहेका कामकारबाहीका विषयमा मुख्यमन्त्रीलाई विस्तृत रूपमा जानकारी गराउनुभएको थियो।

