धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारसँग जोडिँदै आएको योजना किनबेचको आरोपको अन्त्य गर्दै प्रदेशको नयाँ पहिचान स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशमा हरेक वर्ष बजेट निर्माणका क्रममा बिचौलियाको चलखेल र कमिसनका आधारमा योजना छनोट हुने गरेको आरोप लाग्दै आएको छ। यही विषय पछिल्लो समय राजनीतिक विवादको कारणसमेत बन्दै आएको छ। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहकार्यसमेत योजना छनोट र बजेट पुनर्लेखनको विवाद उत्कर्षमा पुगेपछि टुटेको थियो।
योजना छनोटमा हुने भनिएको अनियमितताका कारण प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला मुख्यमन्त्री भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा आफूले यही नकारात्मक छवि परिवर्तन गर्नुपर्ने चुनौती बोकेको बताए। ‘योजना किनबेच हुने भनेर आलोचना गरिने प्रदेशको पहिचानबाट प्रदेशको सामर्थ्य र पहिचानका आधारमा हाम्रो समृद्ध इतिहासलाई फेरि ब्युँताउने चुनौती र अवसर मेरा सामु छ,’ उनले भने।
विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री भट्टले आफ्नो सरकारसामु अवसरभन्दा चुनौती बढी रहेको बताए। सङ्घीयताको मर्ममाथि निरन्तर प्रश्न उठिरहेको भन्दै उनले प्रदेश संरचनाको आवश्यकता व्यवहारबाटै पुष्टि गर्नुपर्ने धारणा राखे। उनका अनुसार प्रदेश संरचना अनावश्यक भएको भाष्य निर्माण गर्ने प्रयास एकातिर भइरहेको छ भने अर्कोतर्फ पुराना दल र ‘३५ वर्षको भाष्य’मार्फत राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा गर्ने प्रयास भइरहेको छ।
‘एकथरी मान्छेले प्रदेश संरचना अनावश्यक रहेको भाष्य निर्माण गर्दै यसको उद्देश्य र उपादेयतामाथि प्रश्न उठाइरहेका छन्। अर्कोतिर कहिले पुराना दल र ३५ वर्षको भाष्य बनाएर जनतामाझ परिवर्तनका हिमायती राजनीतिक शक्ति र नेतृत्वमाथि वितृष्णा सिर्जना गरेर जनतामा व्यवस्थाप्रति नै असन्तुष्टि सिर्जना गर्ने प्रयास भइरहेको छ,’ उनले भने।
यस्तो अवस्थामा सङ्घीयताको मर्ममाथि प्रहार गर्ने गतिविधिलाई व्यवहारबाटै परास्त गर्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि प्रदेश सरकारको कार्यसम्पादन नै सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए। जनतामा जबरजस्ती थोपरिँदै गएको निराशा हटाएर प्रदेशको औचित्य पुष्टि गर्न सकिनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री भट्टले बताए। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम लामो समयदेखि विकासका दृष्टिले पछाडि पारिएको भन्दै यहाँको सामाजिक तथा आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
मानव विकास, गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षा र प्रतिव्यक्ति आयलगायतका सूचकमा प्रदेशको अवस्था अझै कमजोर रहेको उनको भनाइ थियो। उनले यी सूचकमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने बताए। रोजगारीका लागि भारतका गल्लीदेखि मध्यपूर्वका मुलुकसम्म पुग्नुपर्ने बाध्यता अझै कायमै रहेको उल्लेख गर्दै उनले प्रदेशवासीको जीवनस्तर उकास्न आफूले प्राथमिकता दिने बताए। ‘केन्द्रको उत्पीडन र शोषणमा परेको यो प्रदेशका जनताको जीवनस्तर उकासेर आत्मसम्मान, पहिचान र स्वाभिमान बढाउने’ आफ्नो लक्ष्य रहेको उनले बताए।
मुख्यमन्त्री भट्टले आफूमा काम गर्ने हुटहुटी, सपना, स्पष्ट लक्ष्य र दृष्टिकोण रहेको दाबी गरे। प्रदेशका दुर्गम तथा अति दुर्गम बस्तीमा पुगेर जनताको वास्तविक अवस्था बुझ्ने प्रयास गरेको उनले बताए। जनताको दैनिक जीवनसँग जोडिएका समस्या आफूले नजिकबाट अनुभूति गरेको उनको भनाइ थियो।‘हरेक जनताको पीरमर्कामा डुबेको छु, हेलिएको छु। कसको चुल्होमा के पाकेको छ रु त्यो आफ्नै आँखाले देख्ने र आफैँले भोग्ने सम्मको अनुभूति गरेको छु,’ उनले भने, ‘जनताले बाँच्नका लागि कसरी गरिरहेका छन् भन्ने कुरा मैले गहिरोसँग अनुभूति गरेको छु।’
उनले आफू नेतृत्वको सरकारले प्रदेशको नकारात्मक पहिचान बदल्ने र जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्ने दाबी गरे। प्रदेशको औचित्यमाथि उठिरहेका प्रश्नको जवाफ भाषणबाट नभई सरकारको कामबाट दिनुपर्ने उनको भनाइ थियो।

