धनगढी: नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । आफ्ना सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको विषयलाई लिएर कांग्रेसले सभामुखको भूमिका तटस्थ नभएको आरोप लगाएको हो । मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत मागेका बेला प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस सांसद विक्रमसिंह धामीले निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउँदा आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको भन्दै आपत्ति जनाए ।
‘निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउँदा स्पष्ट पार्ने मौका दिनुपर्ने हो,’ उनले भने, ‘उचित सुनुवाइको अवसर नदिई पदबाट हटाउनु लोकतान्त्रिक मान्यताविरोधी हो ।’ विश्वासको मत प्रस्तावमाथिको छलफलका क्रममा देउवालाई पदमुक्त गरिएको प्रसंग उठाउँदै धामीले सभामुखप्रति व्यंग्य गर्दै ‘सभामुख महोदय भनौँ कि सांसद पदका यमराज ?’ भनेका थिए ।
धामीको उक्त अभिव्यक्तिप्रति सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका सांसद ओमविक्रम भाटले आपत्ति जनाए । उनले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गरेका थिए ।

